काठमाडाैं । महोत्तरीको जलेश्वर नगरपालिका–१२ थरुवाही गाउँका १२ वर्षीय गौतम यादव सात दिनदेखि बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गौतम जेठ ७ गते बिहान करिब ६ बजे घरबाट जलेश्वर नगरपालिका–२ स्थित एड्भान्स लर्नर्स हिमालयन अङ्ग्रेजी बोर्डिङ स्कुल जान निस्किएका थिए।
गौतम, आशुतोष यादव र पुनमाया यादवका छोरा हुन्। विद्यालय समय सकिएपछि पनि उनी घर नफर्केपछि परिवारले विद्यालयमा सम्पर्क गरेको थियो। तर विद्यालय प्रशासनले गौतम उक्त दिन विद्यालय नै नआएको जानकारी दिएको प्रहरीले जनाएको छ।
छोराको सात दिनसम्म कुनै अत्तोपत्तो नलागेपछि उनका बुवा–आमाले अपहरण वा बेचबिखनमा परेको हुनसक्ने आशङ्का गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएका छन्।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।

