काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’को अवसरमा सुर्तीजन्य पदार्थको सेवन त्याग्न सबैलाई आग्रह गरेकी छन्। दिवसका अवसरमा जारी सन्देशमार्फत उनले सुर्तीजन्य पदार्थ प्रयोगकर्तालाई आजैदेखि त्यसको लत छोड्ने सङ्कल्प गर्न आह्वान गरिन्।
मन्त्री मेहताले सुर्तीजन्य पदार्थको लत त्याग्न सुरुमा कठिन भए पनि दृढ इच्छाशक्ति, परिवारको साथ र स्वास्थ्यकर्मीको उचित परामर्शले त्यसबाट मुक्त हुन सकिने बताइन्। उनले भेप, हुक्का तथा अन्य निकोटिनयुक्त उत्पादनलाई आधुनिक वा आकर्षक भन्दै प्रयोग गर्ने प्रवृत्तिबाट टाढा रहन पनि अनुरोध गरिन्।
उनका अनुसार इ–सिगरेट, भेप र हुक्कामा पनि परम्परागत सुर्तीजन्य पदार्थसरह हानिकारक निकोटिन तथा विषाक्त तत्व हुने भएकाले यस्ता उत्पादन सुरक्षित छन् भन्ने भ्रममा पर्न नहुने उल्लेख छ।
मन्त्री मेहताले नेपालमा सुर्तीजन्य पदार्थको प्रयोग गम्भीर जनस्वास्थ्य चुनौती बनेको बताउँदै हाल करिब २९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गरिरहेको र हरेक वर्ष ३९ हजारभन्दा बढी व्यक्तिको मृत्यु यसकै कारण हुने तथ्याङ्क चिन्ताजनक रहेको बताइन्।
किशोर–किशोरीलाई लक्षित गरी सुर्ती उद्योगले सामाजिक सञ्जालमार्फत विभिन्न स्वाद र आकर्षक स्वरूपका निकोटिनयुक्त उत्पादनको प्रचार–प्रसार गरिरहेको उल्लेख गर्दै उनले यसले समस्या झन् जटिल बनाएको धारणा व्यक्त गरिन्।
सुर्तीजन्य पदार्थ तथा भेपको लतबाट मुक्त हुन चाहनेहरूलाई मन्त्रालयले आवश्यक परामर्श र सहयोग उपलब्ध गराउने जानकारी दिँदै मन्त्री मेहताले सुर्तीजन्य पदार्थको उपभोग निरुत्साहित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्।
नेपालमा यस वर्ष ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँ, कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाइँदैछ।

