काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सिमान्तकृत तथा विपन्न समुदायका जेहेनदार विद्यार्थीलाई प्रदेश सरकारले छात्रवृत्ति प्रदान गरी चिकित्सा र इञ्जिनियरिङ शिक्षा अध्ययन गराउने योजना अघि बढाएको बताएका छन्।
नेपाल चिकित्सक सङ्घ केन्द्रीय समितिद्वारा आयोजित ‘अल नेपाल मेडिकल कन्फ्रेन्स–एनएमए कन २०२६’ को उद्घाटन समारोहमा बोल्दै उनले आर्थिक अभावका कारण योग्य विद्यार्थीको पढाइ नरोकिने व्यवस्था गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
“सिमान्तकृत समुदायका विद्यार्थीले प्रवेश परीक्षामा नाम निकालिसकेपछि आर्थिक अभावका कारण पढाइ रोक्नुपर्ने अवस्था आउन दिइने छैन,” मुख्यमन्त्री बानियाँले भने।
चिकित्सा सेवालाई अत्यन्त महत्वपूर्ण क्षेत्रका रूपमा उल्लेख गर्दै उनले दक्ष र सक्षम स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिए। चिकित्सकलाई इमानदारीपूर्वक सेवामा समर्पित हुन आग्रह गर्दै उनले स्वास्थ्य क्षेत्रमा चिकित्सकको योगदानको प्रशंसा गरे।
मुख्यमन्त्री बानियाँले बागमती प्रदेशका १३ जिल्लाका प्रदेशस्तरीय अस्पतालमा आधुनिक उपकरण जडान गरी गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए। भक्तपुर अस्पतालमा रोबोटिक सर्जरी सेवा र हेटौँडामा क्याथल्याब स्थापना गरी विशेषज्ञ स्वास्थ्य सेवा थप सुदृढ बनाइने उनले बताए।
कार्यक्रममा बागमती प्रदेशकी गरिबी तथा सहरी विकासमन्त्री विनु रायमाझी र भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले स्वास्थ्य क्षेत्रको विकासमा चिकित्सकको भूमिकाको प्रशंसा गरेका थिए।
उक्त अवसरमा नेपाल चिकित्सक सङ्घको नेतृत्व हस्तान्तरण कार्यक्रम पनि सम्पन्न भएको थियो। डा. अनिलविक्रम कार्की नेतृत्वको कार्यसमितिले नवनिर्वाचित अध्यक्ष डा. बद्री रिजाल नेतृत्वको नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो।
शनिबारदेखि सुरु भएको चिकित्सक सङ्घको ३०औँ सम्मेलन आज सम्पन्न हुँदैछ। सम्मेलनमा नेपाल, भारत र चीनबाट गरी करिब ३५० जनाको सहभागिता रहेको छ। स्वास्थ्य सेवा सुधार, डिजिटल हेल्थ, ग्रामीण स्वास्थ्य पहुँच, स्वास्थ्य बिमा, मानव संसाधन व्यवस्थापन तथा स्वास्थ्य क्षेत्रमा नवीन प्रविधिको प्रयोगलगायत विषयमा विशेष छलफल र वैज्ञानिक प्रस्तुतीकरण गरिएको छ।

