काठमाडौँ । काठमाडौंको ठमेल क्षेत्रबाट अवैध गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित होटल एसमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो। भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत शंकास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा जेठ १५ गते उक्त होटलमा प्रहरी कारबाही गरिएको थियो।
अनुसन्धानका क्रममा उनीहरूले होटलको चौथो, पाँचौं र छैटौं तलाका कोठा भाडामा लिएर साइबर अपराध सञ्चालन गरिरहेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूले सामाजिक सञ्जाल फेसबुकमा विदेशी मोडल तथा युवतीहरूको नक्कली प्रोफाइल बनाएर बंगलादेशी र भारतीय नागरिकलाई लक्षित गर्ने गरेका थिए।
प्रहरीका अनुसार नक्कली महिला परिचय प्रयोग गरी सर्वसाधारणसँग मित्रता गाँस्ने, लामो समयसम्म संवाद गर्ने र पछि विभिन्न बहानामा ब्ल्याकमेल गरेर रकम असुल्ने कार्यमा उनीहरू संलग्न थिए।
पक्राउ परेका सबै बंगलादेशी नागरिकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि अध्यागमन विभाग पठाइएको प्रहरीले जनाएको छ।

