नक्सालबाट दुई चिनियाँ नागरिक पक्राउ

काठमाडाैं । प्रहरीले शङ्कास्पद गतिविधिमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिकलाई काठमाडौँको नक्साल क्षेत्रबाट पक्राउ गरी सार्वजनिक गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा ३३ वर्षीय वाङ वेन्ड र ३२ वर्षीय चेन शुआन्गुई रहेका छन्।

प्रहरीका अनुसार उनीहरू ‘भिजिट भिसा’मा नेपाल आएर भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा पक्राउ परेका हुन्। नक्सालस्थित नारायणचौर क्षेत्रमा रहेको आरआर बिल्डिङमा ‘एन्ट्रो टेक्नोलोजी’ नामक कार्यालय सञ्चालन गर्दै उनीहरूले अवैध गतिविधि गरिरहेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा विदेशी मोडल तथा युवतीहरूको नाममा ‘लाइभ हब’ एपमा विभिन्न अकाउन्ट सञ्चालन गरी विदेशी तथा भारतीय नागरिकसँग मित्रता गाँस्ने, संवाद गर्ने र विभिन्न बहानामा पैसा माग्ने काम भइरहेको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन ऐनअन्तर्गत अध्यागमन विभाग, कालिकास्थान पठाइएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खवर