काठमाडाैं । पोखरामा रगतको मौज्दात घट्दै गएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको प्रादेशिक रक्तसञ्चार सेवाले आकस्मिक रक्तदानका लागि सर्वसाधारणसँग आह्वान गरेको छ।
विशेषगरी ‘एबी पोजेटिभ’ रक्त समूहको रगत अभाव हुन थालेको भन्दै सेवा प्रमुख अर्जुन ज्ञवालीले जेठ १९ देखि २३ गतेसम्म कुनै नियमित रक्तदान कार्यक्रम तय नभएकाले माग धान्न कठिन हुनसक्ने अवस्था सिर्जना भएको जानकारी दिए।
उनका अनुसार सम्भावित अभावलाई ध्यानमा राख्दै विभिन्न सङ्घसंस्था, क्लब, आमा समूह, सहकारी संस्था तथा सामाजिक समूहलाई आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न अनुरोध गरिएको छ।
“सानो प्रयासले कसैको जीवन बचाउन सक्छ भन्ने भावनाका साथ रक्तदान गरिदिनुहोस्। पोखरामा रगतको माग उच्च हुने भएकाले नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन हुन आवश्यक छ,” ज्ञवालीले भने।
प्रदेश राजधानी पोखरामा कास्की मात्र नभई गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट पनि बिरामीहरू उपचारका लागि रिफर भएर आउने भएकाले रगतको माग सधैं उच्च रहने गरेको छ।
प्रादेशिक रक्तसञ्चार सेवाका अनुसार पोखरामा दैनिक ७० देखि ८० युनिट रगत आवश्यक पर्ने गर्दछ। रक्तसञ्चार सेवाले आवश्यक रक्त समूहका दाताहरूलाई नजिकको रक्तदान केन्द्रमा सम्पर्क गरी रक्तदान गर्न आग्रह गरेको छ।

