मधेस प्रदेशमा अत्यधिक गर्मी, ‘लु’को जोखिमबारे मौसम विभागको चेतावनी

काठमाडाैं । दैनिक तापक्रम बढेसँगै मधेस प्रदेशको जनजीवन प्रभावित बनेको छ।

मधेसका अधिकांश स्थानमा एक सातादेखि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले ‘लु’ (Heatwave) को जोखिम बढेको जल तथा मौसम विज्ञान कार्यालय, जनकपुरले जनाएको छ। कार्यालयले उच्च तापक्रमका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रादेशिक अस्पताल जनकपुरका फिजिसियन डा. दिग्विजय ठाकुरका अनुसार ‘लु’ लागेमा अत्यधिक थकान, कमजोरी, तिर्खा, बेहोस हुने र बान्ता जस्ता लक्षण देखिन सक्छन्। उनले गर्मीबाट बच्न घरभित्र वा चिसो स्थानमा बस्न, हलुका कपडा लगाउन, घाममा ननिस्कन र पर्याप्त पानी तथा झोल पदार्थ सेवन गर्न सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान कार्यालय जनकपुरका प्रमुख राजीव झाले यस वर्ष मनसुन ढिलो वा कमजोर हुने सम्भावना देखिएको उल्लेख गर्दै उखरमाउलो गर्मी अझ केही समय जारी रहने बताएका छन्।

अत्यधिक गर्मीका कारण मजदुर तथा दैनिक ज्यालादारीमा काम गर्नेहरूको जीवन कष्टकर बनेको छ भने दिउँसोका समयमा शहरी क्षेत्रमा चहलपहल पनि घटेको छ।

स्वास्थ्यकर्मीहरूले पानीको कमीले डिहाइड्रेसन र अन्य स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको