काठमाडाैं । विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ। ० देखि ५९ महिनासम्मका सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याएपछि यो उपलब्धि हासिल भएको महानगरपालिकाको खोप शाखाले जनाएको छ।
महानगरका अनुसार कुल ११ हजार ६३० बालबालिकालाई पूर्णखोप प्रदान गरिएको छ। तीमध्ये ० देखि ११ महिनाका २ हजार १३९ जना, १२ देखि १५ महिनाका ९७७ जना, १६ देखि २३ महिनाका १ हजार ५४८ जना तथा २४ देखि ५९ महिनाका ६ हजार ९६६ जना बालबालिका रहेका छन्।
यस उपलब्धिसँगै बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीले बताएका छन्।
उनका अनुसार खोप अभियानले बालमृत्युदर घटाउन, रोगको जोखिम न्यूनीकरण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको छ।
खोप संयोजक सुशील साहले पूर्णखोप कार्यक्रमले दादुरा, रुबेला, पोलियो, क्षयरोग, डिप्थेरिया, कालीखोकी र टिटानसजस्ता रोगबाट बालबालिकालाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताए।
त्यस्तै स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीपकुमार यादवले पूर्णखोप सुनिश्चितताको उपलब्धिलाई स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सफलता भएको बताएका छन्।

