काठमाडाैं । रोजगारीका लागि विदेश पठाइदिने प्रलोभन देखाएर रु २९ लाख २० हजार ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको आश्वासन दिँदै फ्रान्स, जर्जिया र माल्टालगायत देशमा रोजगारी दिलाइदिने भन्दै रकम असुलेर सम्पर्कविहीन भएका व्यक्तिविरुद्ध परेको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचोकगढी गाउँपालिका–२ की २६ वर्षीया निमा तामाङ र महोत्तरीको बर्दिबास नगरपालिका–६ का २४ वर्षीय विवेक साह रहेका छन्।
प्रहरीका अनुसार तामाङले फ्रान्स पठाइदिने भन्दै रु २२ लाख ८५ हजार र साहले जर्जिया तथा माल्टा पठाइदिने भन्दै रु ६ लाख ३५ हजार असुलेका थिए। रकम लिएपछि दुवै जना सम्पर्कविहीन भएको पीडितहरूको आरोप छ।
उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

