काठमाडौँ । रौतहटमा वन संरक्षणका लागि खटिएको गस्ती टोलीमाथि आक्रमण गर्ने एक जना आरोपी पक्राउ परेका छन्। गुजरा नगरपालिका–२ मैढा गाउँका २६ वर्षीय राजकिशोर साहलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी वीरगन्ज बिर्ताको संयुक्त टोलीले लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको हो। उनी हाल चन्द्रनिगाहपुर प्रहरी हिरासतमा रहेका छन्।
काठ चोरी भइरहेको सूचनाका आधारमा गत १९ गते राति साढे १२ बजे जङ्गल क्षेत्रमा पुगेको वन गस्ती टोलीमाथि समूहगत आक्रमण भएको थियो। सो घटनामा वन अधिकृत, वन रक्षक, साझेदारी वन उपभोक्ता समितिका सदस्य तथा चालकसहित केही व्यक्ति घाइते भएका थिए।
घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

