रौतहटमा मोटरसाइकल दुर्घटनामा २८ वर्षीय युवकको मृत्यु

रौतहट । बौधीमाई नगरपालिका–९ स्थित बङ्कुल बजार नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा परोहा नगरपालिका–९ स्थायी ठेगाना भई हाल बौधीमाई नगरपालिका–९ मा बस्दै आएका करिब २८ वर्षीय दीपेन्द्र दास रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आज बिहान स्थानीय मौलापुर–बङ्कुल सडकमा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा यात्रा गरिरहेका दासको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका उनको मृत्यु भएको बङ्कुल प्रहरी चौकीका सहायक निरीक्षक रमेशप्रसाद यादवले जानकारी दिए।

घटनास्थल बङ्कुल प्रहरी चौकीबाट करिब तीन किलोमिटर उत्तरपूर्वमा रहेको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र मृतकको शव प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरी निरीक्षक भरत केसीले बताए।

रोजगारीका सिलसिलामा विदेश गएका दास एक साताअघि मात्र गाउँ फर्किएका थिए। उनी मौलापुरस्थित ससुराली घरमा बस्दै आएका थिए। उनका श्रीमती र दुई छोरी रहेको बौधीमाई नगरपालिका–९ का वडाध्यक्ष मुक्तिनारायण मिश्रले जानकारी दिए।

सम्बन्धित खवर