काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रस्तावित सङ्घीय निजामती सेवा विधेयकले निजामती सेवाको कार्यसम्पादन र जवाफदेहितामा ‘प्याराडाइम सिफ्ट’ ल्याउने अपेक्षा गरिएको बताएकी छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मन्त्री रावलले गहन अध्ययन र व्यापक छलफलपछि विधेयकलाई अन्तिम रूप दिइएको जानकारी दिइन्। विधेयकले निजामती सेवालाई सक्षम, प्रभावकारी, दक्ष, उत्तरदायी र परिणाममुखी बनाउने उनको विश्वास छ।
उनले सङ्घीय शासन प्रणालीको प्रभावकारी कार्यान्वयन, सुशासन तथा सार्वजनिक प्रशासन सुधारका लागि विधेयक महत्वपूर्ण आधार बन्ने बताइन्। मन्त्रिपरिषद्को असोज १३ गतेको निर्णयअनुसार विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिइएको थियो।
मन्त्री रावलले आज विधेयक संसद् सचिवालयमा दर्ता गराएकी छन्।

