काठमाडौँ । मोरङको जहदा गाउँपालिका–७ महादेवकोलबाट सशस्त्र प्रहरीले ९२२ किलोग्राम गाँजा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म सोराभाग र बोर्डर आउट पोष्ट नोचाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा उक्त गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार लक्ष्मिनियाबाट तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको पिकअप गाडीमा धानको भुसको बोराले छोपेर राखिएको २९ पोका गाँजा फेला परेको थियो।
गाँजा ओसारपसारमा प्रयोग गरिएको पिकअपसँगै त्यसलाई स्कटिङ गरिरहेको बीआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।
घटनामा संलग्न पिकअप र मोटरसाइकल चालक भने फरार रहेका छन्। बरामद गाँजा, सवारी साधन तथा घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

