काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाबाट नेपाली नक्कली नोटसहित एक महिला पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शिवराज नगरपालिका–२ हल्लानगरकी ४८ वर्षीया महिलालाई नक्कली नोट प्रयोग गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।
गत जेठ २९ गते साँझ शिवराज नगरपालिका–३ खरेन्द्रपुरस्थित एक चिउरा उद्योगमा बङ्गुरलाई खुवाउने चिउराको धुलो खरिद गर्न पुगेकी ती महिलाले भुक्तानीका लागि दिएको रकममाथि उद्योग सञ्चालकलाई शङ्का लागेको थियो। नोट नक्कली हुन सक्ने आशङ्कापछि उनले तत्काल प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको टोलीले घटनास्थलमै महिलालाई नियन्त्रणमा लिएको थियो। जाँचका क्रममा उनीसँग एउटै सिरियल नम्बर भएका ५०० रुपैयाँ दरका १९ थान नेपाली नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ। बरामद नोटको कुल मूल्य ९ हजार ५०० रुपैयाँ रहेको छ।
प्रहरीले ती महिलाविरुद्ध खोटा चलन मुद्रा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। थप अनुसन्धानका लागि कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

