काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी जिल्ला अदालत काठमाडौँमा भइरहेको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखिएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासमा पाँच दिनदेखि लगातार भइरहेको सुनुवाइ आज फाइल अध्ययन तथा बहसका लागि समय आवश्यक परेको कारण स्थगित गरिएको हो। अदालतले आगामी सुनुवाइका लागि भोलि (बुधबार) पेसी तोकेको छ।
गत जेठ २७ गतेदेखि निरन्तर सुनुवाइ सुरु भएको यस मुद्दामा सयौँ कानुन व्यवसायीले बहसका लागि नाम टिपाएका छन्। धेरै संख्यामा वकिलहरूको उपस्थिति र समय व्यवस्थापन चुनौतीपूर्ण बनेपछि इजलासले बहसको समय छोट्याउन आग्रह गर्दै आएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायतका देशमा पठाउने भन्दै ठगी गरिएको आरोपमा दायर यो मुद्दा लामो समयदेखि सुनुवाइमा रहेको थियो। हाल भने अदालतले निरन्तर सुनुवाइ प्रक्रिया अघि बढाइरहेको छ।
यस प्रकरणमा ३० जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको अपराध सम्बन्धी मुद्दा दर्ता गरिएको छ। आरोपितहरूमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थ व्यक्ति र बिचौलिया संलग्न छन्।
मुद्दा दर्ता हुँदा केही अभियुक्त थुनामा पठाइएका छन् भने केही धरौटीमा रिहा भएका छन्। केही आरोपी अझै फरार रहेको जनाइएको छ।

