काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा मनसुन ढिलो भित्रिने र अपेक्षाकृत कमजोर रहने सम्भावना रहेको जनाएको छ। निर्धारित मिति कटिसक्दा पनि मनसुनी प्रणाली नेपाल प्रवेश नगरेको विभागले उल्लेख गरेको छ।
विभागका मौसमविद्का अनुसार एल–निनोको प्रभावका कारण दक्षिण एसियाली मनसुन प्रणाली प्रभावित हुने देखिएको छ। यही कारण नेपालमा वर्षा कम हुने र तापक्रम बढ्ने अनुमान गरिएको छ।
विशेषगरी लुम्बिनी, मधेस, कर्णाली र कोशी प्रदेशका विभिन्न क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको छ। यसले कृषि उत्पादन, जलस्रोत व्यवस्थापन र विपद् जोखिममा असर पार्न सक्ने चेतावनी दिइएको छ।
नार्क र मौसम विभागले संयुक्त रूपमा जारी गरेको कृषि–मौसम सल्लाह बुलेटिनमार्फत किसानलाई खडेरी सहनसक्ने धानका जात, वर्षाको पानी संकलन तथा कम पानीमा खेती गर्न सकिने आधुनिक प्रविधि अपनाउन सुझाव दिएका छन्।

