काठमाडौं । जिल्ला प्रहरी कार्यालय तनहुँ र मातहतका प्रहरी इकाइहरूले सञ्चालन गरेको विशेष खोजी अभियानका क्रममा १९ जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्। पक्राउ परेकामध्ये नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार अभियान लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण रोकथाम, शान्तिसुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत प्रयोग नियन्त्रणलाई केन्द्रित गरी सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत जिल्लाका संवेदनशील क्षेत्र, सार्वजनिक स्थल, बजार क्षेत्र तथा सम्भावित आपराधिक गतिविधि हुनसक्ने स्थानहरूमा निगरानी र जाँचलाई तीव्र पारिएको छ।
प्रहरीका अनुसार जिल्लामा शान्तिसुरक्षा कायम राख्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा नागरिकमा सुरक्षाको अनुभूति गराउने उद्देश्यले यस्ता अभियान नियमित रूपमा सञ्चालन हुँदै आएका छन्। नियन्त्रणमा लिइएका व्यक्तिमध्ये केहीमाथि थप अनुसन्धान जारी रहेको तथा अन्यको आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको जनाइएको छ।
पछिल्लो समय लागुऔषध दुव्र्यसन, चोरी, सार्वजनिक अपराध तथा प्राकृतिक स्रोतसाधनको अवैध दोहन नियन्त्रणलाई प्राथमिकतामा राखेर निगरानी बढाइएको प्रहरीले जनाएको छ। साथै अपराध नियन्त्रण र शान्तिसुरक्षा सुदृढीकरणका लागि समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाइँदै लगिएको पनि उल्लेख गरिएको छ।
प्रहरीले कुनै पनि शंकास्पद गतिविधि, अवैध कारोबार वा कानुनविपरीतका कार्यबारे जानकारी भए तत्काल सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

