काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आगामी असार १५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ। अस्पतालले भुक्तानी समस्या भएपछि गत माघ १ गतेदेखि उक्त सेवा स्थगित गरेको थियो।
अस्पतालका कार्यकारी निर्देशक डा. सुभाषप्रसाद आचार्यका अनुसार प्रारम्भमा बहिरङ्ग सेवा (ओपिडी)मार्फत बिमा सेवा सञ्चालन गरिनेछ भने केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ।
अस्पतालले बिहान ७ः०० देखि ११ः०० बजेसम्म तथा दिउँसो १ः०० देखि २ः३० बजेसम्म स्वास्थ्य बिमासम्बन्धी टिकट उपलब्ध गराउने जनाएको छ।
स्वास्थ्य बिमा बोर्डले हालै अस्पताललाई बिमा कार्यक्रमअन्तर्गत उपचार गरेबापतको बक्यौता भुक्तानी गरेपछि सेवा पुनः सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ।
त्रिवि शिक्षण अस्पतालले विसं २०७७ देखि स्वास्थ्य बिमा कार्यक्रममार्फत नियमित उपचार सेवा प्रदान गर्दै आएको थियो।

