दृष्टिबन्धकको जग्गा बैंकमा धितो राखेर ४ करोड ठगी गरेको आरोपमा एकै परिवारका तीन पक्राउ

काठमाडौँ । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा धितो राखेर करिब चार करोड रुपैयाँ ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी ४८ वर्षीया श्रीमती रेखा साह र ३२ वर्षीय छोरा हरेराम साहलाई पक्राउ गरिएको हो।

प्रहरी उपरीक्षक नरहरि रेग्मी खड्काका अनुसार गोपाल साहलाई जनकपुरधामस्थित एक होटलबाट, रेखा साहलाई धनुषाको नगराइन नगरपालिका–स्थित जटही सीमा नाकाबाट तथा हरेराम साहलाई काठमाडौंबाट नियन्त्रणमा लिइएको हो।

अनुसन्धानका क्रममा जनकपुरधाम उपमहानगरपालिका–२ निवासी गोविन्दकुमार साहले व्यापार व्यवसायका लागि गोपाल साहसँग दृष्टिबन्धकमा जग्गा राखी कपाली तमसुकमार्फत ९९ लाख रुपैयाँ ऋण लिएको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दृष्टिबन्धकमा दर्ता गरिएको उक्त जग्गा वास्तविक जग्गाधनीलाई जानकारी नै नदिई गोपाल साह, उनकी श्रीमती र छोराले बैंकमा धितो राखेर चार करोड रुपैयाँ ऋण निकालेका थिए।

प्रहरीले गोपाल साहको जनकपुरधामस्थित घरबाट ५० थान जग्गाधनी प्रमाणपूर्जा, १८ थान नागरिकता प्रमाणपत्र, एक थान ल्यापटप तथा विभिन्न छाप र नक्सा बरामद गरेको जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको