काठमाडौँ । झापाको दमक नगरपालिका–१ हवल्दार चोकस्थित एक होटलबाट २२ ग्रामभन्दा बढी खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार इलामको चुलाचुली गाउँपालिका–४ का पूर्णकुमार राईलाई होटलभित्र लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो।
लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले होटलमा पुगेपछि खाजा खाइरहेका राईको खानतलासी गर्दा हेरोइनजस्तो देखिने पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए।
प्रहरीका अनुसार बरामद गरिएको पदार्थको तौल प्लास्टिकबाहेक २२ ग्राम १५० मिलिग्राम रहेको छ। घटनास्थलबाट मे १० प ३९७० नम्बरको मोटरसाइकलसहित अन्य सामग्री पनि नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका राईमाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

