नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको चिकित्सक सङ्घद्वारा भर्त्सना, दोषीलाई कडा कारबाहीको माग

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले वीरगन्जस्थित नारायणी अस्पतालका मेडिकल अफिसर डा. प्रमोद राममाथि भएको आक्रमणको कडा भर्त्सना गर्दै घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

सङ्घले आइतबार जारी गरेको विज्ञप्तिमा शनिबार साँझ करिब ४०–५० जनाको समूहले डा. राममाथि मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको उल्लेख गर्दै स्वास्थ्यकर्मीमाथिको हिंसालाई अस्वीकार्य भएको जनाएको छ।

विज्ञप्तिअनुसार शनिबार बिहान मुटुसम्बन्धी समस्याका एक बिरामीलाई नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। घटनाको वास्तविकता नबुझी केही व्यक्तिले आकस्मिक कक्षमा तोडफोड गर्दै अस्पतालको सेवा प्रवाहमा अवरोध सिर्जना गरेका थिए। सोही क्रममा डा. राममाथि कुटपिट भएको सङ्घले जनाएको छ।

नेपाल चिकित्सक सङ्घले स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा हिंसा र आतङ्क मच्चाउने कार्य गम्भीर अपराध भएको उल्लेख गर्दै दोषीलाई अविलम्ब कानुनबमोजिम कारबाही गर्न तथा स्वास्थ्यकर्मीले सुरक्षित र भयरहित वातावरणमा सेवा दिन सक्ने अवस्था सुनिश्चित गर्न नेपाल सरकारसँग जोडदार माग गरेको छ। साथै यस्ता घटनाको पुनरावृत्ति रोक्न प्रभावकारी सुरक्षा व्यवस्था गर्न पनि सङ्घले आग्रह गरेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको