काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सुदूरपश्चिमको गेटास्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय प्रभावकारी रूपमा सञ्चालन गर्न गेटा अस्पताललाई तत्काल कम्तीमा ३०० बेडको क्षमतामा स्तरोन्नति गरी सञ्चालनमा ल्याउन सरकारलाई सुझाव दिएका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले विश्वविद्यालयको औचित्य पुष्टि गर्न र एमबीबीएस पठनपाठन सुरु गर्न अस्पतालको क्षमता विस्तार अपरिहार्य रहेको बताएका हुन्।
उनका अनुसार प्रदेश सरकारले पूर्वस्वीकृति दिइसकेको सेती प्रादेशिक अस्पताललाई गेटा अस्पतालसँग समायोजन गरी स्वास्थ्य मन्त्रालयकै जनशक्ति परिचालन गर्ने हो भने न्यून लागतमै ३०० बेडको अस्पताल सञ्चालन गर्न सकिनेछ।
पौडेलले आफू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारीमा रहँदा आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत गेटा अस्पताल सञ्चालन र एमबीबीएस पठनपाठन सुरु गर्न आवश्यक स्रोत सुनिश्चित गरिएको दाबी गरेका छन्। त्यतिबेला केही पक्षबाट वस्तुस्थिति नबुझी विरोध भए पनि अस्पतालको क्षमता अभिवृद्धि र शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरकार तयारी अवस्थामा रहेको उनले उल्लेख गरेका छन्।
उनले हाल डा. गोविन्द केसीले गेटा अस्पताल शीघ्र सञ्चालनको माग राख्दै सुरु गरेको सत्याग्रह अन्ततः दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई सुदृढ बनाउने उद्देश्यसँग जोडिएको बताए।
पौडेलले विभिन्न बहानामा विश्वविद्यालयको आधार मानिएको अस्पतालको स्तरोन्नति र सञ्चालन प्रक्रियामा अवरोध सिर्जना भइरहेको आरोप लगाउँदै गेटा अस्पताललाई तत्काल ३०० बेडको क्षमतामा सञ्चालनमा ल्याउनु नै सबैभन्दा व्यावहारिक र दीर्घकालीन समाधान हुने बताए। उनका अनुसार अस्पतालको स्तरोन्नति नगरी विश्वविद्यालयको औचित्य स्थापित गर्न र एमबीबीएस अध्ययन–अध्यापन सुरु गर्न सम्भव छैन।

