‘आयल निगमले आफ्नै ग्यास उद्योग खोल्नैपर्छ’ : मन्त्री कुमारी

काठमाडौँ । ग्यास आपूर्तिमा बारम्बार समस्या देखिन थालेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नेपाल आयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता औँल्याएकी छन्।

सम्बन्धित संसदीय समितिको बैठकमा बोल्दै उनले नेपालमा ५८ वटा ग्यास उद्योग रहे पनि तीमध्ये कुनै पनि निगमको स्वामित्वमा नरहेको बताइन्। उद्योगीहरूलाई आपूर्ति सहज बनाउन पटक–पटक आग्रह गरिए पनि अपेक्षित परिणाम आउन नसकेको उनको गुनासो थियो।

मन्त्री कुमारीले आपूर्ति प्रणाली सुधारका लागि निगमले कम्तीमा एउटा ग्यास उद्योग सञ्चालन गर्नुपर्ने बताउँदै आवश्यक निर्देशन दिन समितिलाई आग्रह गरिन्।

उनका अनुसार काठमाडौंका लागि दैनिक ठूलो संख्यामा ग्यास सिलिन्डर पठाइएको भनिए पनि वास्तविक रूपमा मागअनुसार आपूर्ति हुन सकेको छैन। उनले आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधान गर्न राज्यको प्रत्यक्ष भूमिका आवश्यक रहेको बताइन्।

उनले नेपाललाई तेल, ग्यास, कपडा, खाद्यान्न र चिनीमा आत्मनिर्भर बनाउने दिशामा अघि बढ्नुपर्ने बताइन्। साथै, कच्चा पदार्थ आयातमा भन्सार छुटलगायत सुधार नगरेसम्म स्वदेशी उद्योग प्रतिस्पर्धी बन्न नसक्ने उनको भनाइ थियो।

मन्त्री कुमारीले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र पारिएको र कालोबजारी तथा मूल्यवृद्धि नियन्त्रणमा कडाइ गरिएको जानकारी दिइन्।

चिनी आपूर्ति सहज बनाउन २५ हजार मेट्रिक टन चिनी एक प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति प्राप्त भएको उनले बताइन्। सरकारी कम्पनीबाट चिनी प्रतिकिलो १०५ देखि १०९ रुपैयाँसम्ममा बिक्री भइरहेको भए पनि बजारमा मूल्य १५० रुपैयाँभन्दा कम नरहेको उनले उल्लेख गरिन्।

समिति सभापति रहबर अन्सारीले चिनीको मूल्यवृद्धि र सरकारी निकायमा सफ्टवेयर खरिदमा हुने उच्च खर्चबारे प्रश्न उठाउँदै उपभोक्ता हित संरक्षणका लागि आवश्यक कानुनी सुधार गर्न मन्त्रालयलाई आग्रह गरिन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको