दक्षिण कोरियामा विद्यालय हिंसा कीर्तिमानीस्तरमा

एजेन्सी । दक्षिण कोरियामा डिजिटल उपकरणको बढ्दो प्रयोग, सामाजिक दूरी तथा कोभिड–१९ महामारीपछिको आक्रामक व्यवहारका कारण विद्यालय हिंसाका घटना कीर्तिमानीस्तरमा पुगेका छन्।

शिक्षा मन्त्रालयका अनुसार कक्षा ४ देखि हाईस्कुलको अन्तिम वर्षसम्मका करिब ३९ लाख विद्यार्थीमा गरिएको सर्वेक्षणमा सन् २०२६ मा विद्यालय हिंसाको सिकार हुने विद्यार्थीको दर २.९ प्रतिशत पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ०.४ प्रतिशतले बढी हो।

मन्त्रालयले सन् २०१३ देखि विद्यालय हिंसासम्बन्धी तथ्याङ्क सङ्कलन गर्न थालेयता यो सबैभन्दा उच्च दर हो। अर्थात् प्राथमिक, निम्न माध्यमिक र उच्च माध्यमिक तहका प्रत्येक १०० विद्यार्थीमध्ये करिब तीन जनाले विद्यालय हिंसाको अनुभव गरेको देखिएको छ।

वर्षमा कम्तीमा दुई पटक सञ्चालन हुने अनलाइन सर्वेक्षणको यस वर्षको पहिलो चरणमा ८१.९ प्रतिशत अर्थात् करिब ३१ लाख ९० हजार विद्यार्थी सहभागी भएका थिए। यो सहभागिता दर गत वर्षको तुलनामा ०.३ प्रतिशतले कम हो।

सर्वेक्षणमा सन् २०२५ को दोस्रो सत्रदेखि सन् २०२६ को मेसम्म भएका विद्यालय हिंसाका घटनालाई समेटिएको थियो। तथ्याङ्कले महामारीपछि विद्यालयहरू सामान्य अवस्थामा फर्किएसँगै हिंसाका घटना निरन्तर बढ्दै गएको देखाएको छ।

सन् २०१९ मा विद्यालय हिंसाको सिकार हुने विद्यार्थीको दर १.६ प्रतिशत थियो। दूरशिक्षाका कारण सन् २०२० मा यो दर घटेर ०.९ प्रतिशतमा पुगे पनि त्यसपछि क्रमशः बढ्दै सन् २०२१ मा १.१, २०२२ मा १.७, २०२३ मा १.९, २०२४ मा २.१ र २०२५ मा २.५ प्रतिशत पुगेको थियो।

विशेषज्ञहरूले पछिल्लो तथ्याङ्कले कोभिड–१९ महामारीको दीर्घकालीन सामाजिक प्रभावसमेत उजागर गरेको बताएका छन्। उनीहरूका अनुसार लामो समयसम्म प्रत्यक्ष सामाजिक सम्पर्कमा कमी आउनु र डिजिटल उपकरणमा निर्भरता बढ्नुले विद्यार्थीको द्वन्द्व समाधान गर्ने क्षमता कमजोर बनाएको तथा कक्षाकोठामा आक्रामक व्यवहार बढाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको