काठमाडौँ । सिराहामा नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको १ सय ५७ किलो २०७ ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद भएको छ।
औरही गाउँपालिका–४ इटाटारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाबाट खटिएको टोलीले राति १ः३५ बजे गाँजा बरामद गरेको जनाएको छ।
प्रहरीका अनुसार केही व्यक्तिहरूले टाउकोमा बोकेर गाँजा भारततर्फ लैजाँदै गरेका थिए। गस्ती टोलीलाई देखेपछि उनीहरू गाँजाका पोका छाडेर फरार भएका थिए।
प्लास्टिकमा प्याक गरी कपडाले बाँधिएका आठ वटा पोकामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजा आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

