काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भोटेकोशीमा भएको विपत्तिले सत्ता पक्ष र प्रतिपक्षबीचको विभाजनभन्दा माथि उठेर मानवीयताको पक्षमा एकजुट हुनुपर्ने सन्देश दिएको बताएका छन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपद्का बेला राजनीतिक कित्ताभन्दा राष्ट्रिय हित, मानवीयता र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। उनले जलवायु परिवर्तनबाट सिर्जित संकटबारे विश्व समुदायसँग न्याय माग्न नेपालले साझा आवाज उठाउनुपर्ने बताए।
सरकारले उद्धार र खोजीमा सक्दो प्रयास गरिरहेको उल्लेख गर्दै लामिछानेले आफन्त गुमाएका नागरिकबाट राज्यप्रति आक्रोश आउनु स्वाभाविक भएको बताए। पीडितका आक्रोशलाई सामाजिक सञ्जालमार्फत थप चोट पुर्याउने गतिविधि नगर्न उनले आग्रह गरे।
उनले रास्वपाका कुनै कार्यकर्ता त्यस्ता अवाञ्छित गतिविधिमा संलग्न भए कारबाही गर्ने प्रतिबद्धता जनाउँदै कानुनविपरीत गतिविधि गर्ने जोकोहीलाई सरकारले पनि कारबाही गर्नुपर्ने बताए।
विपद् व्यवस्थापनका विषयमा प्रतिपक्षका रचनात्मक सुझावलाई सरकारले स्वीकार गर्नुपर्ने र विपद्लाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने उनको भनाइ थियो।
लामिछानेले उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मी र उद्धारकर्ताको प्रशंसा गर्दै विपद्को समयमा सहयोग गर्ने मित्रराष्ट्र, निजी क्षेत्र, सञ्चारमाध्यम र गैरआवासीय नेपाली समुदायप्रति धन्यवाद व्यक्त गरे।

