म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेत पहिरोको समस्या समाधान गर्न चासो देखाएका छन्।
मन्त्री पुनले शनिबार बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेत पहिरो तथा गत महिना म्याग्दी नदीमा आएको बाढीले क्षति पुर्याएको सिङ्गा–तातोपानी कुण्डको निरीक्षण गरेका हुन्। उनले स्थानीयसँग छलफल गर्नुका साथै पहिरोको विकल्पमा पक्की पुल निर्माणका लागि प्रस्ताव गरिएको स्थानको समेत अवलोकन गरेका थिए।
फापरखेतमा पछिल्लो एक हप्तादेखि निरन्तर सुक्खा पहिरो खस्दा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध हुँदै आएको छ।
मन्त्री पुनका अनुसार फापरखेत पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षमा चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उनले बर्खाअघि नै जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्।
त्यसैगरी, बाढीले क्षति पुर्याएको सिङ्गा–तातोपानी कुण्ड पुनर्निर्माणका लागि लागत अनुमान तयार गरी बजेट माग गर्न उनले आग्रह गरेका छन्। पुनर्निर्माणका लागि सरकारले सहयोग गर्ने उनको भनाइ छ।

