अमेरिकाले प्यालेस्टिनी राष्ट्रपति अब्बासलाई भिसा दिन अस्वीकार

एजेन्सी । संयुक्त राज्य अमेरिकाले प्यालेस्टिनी प्राधिकरणका अध्यक्ष महमुद अब्बासलाई अर्को साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन भिसा दिन अस्वीकार गरेको छ।

अमेरिकी विदेश मन्त्रालयले प्यालेस्टिनी मुक्ति संगठन (पीएलओ) का सदस्य तथा प्यालेस्टिनी प्राधिकरणका केही अधिकारीलाई समेत भिसा नदिने जनाएको छ। मन्त्रालयले पीएलओ र प्यालेस्टिनी प्राधिकरणले अमेरिका तथा शान्ति प्रक्रियाप्रतिको प्रतिबद्धता कमजोर पार्ने गतिविधि सुधार गर्न असफल भएको आरोप लगाएको छ।

अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्याय अदालतमार्फत कानुनी प्रक्रिया अघि बढाउने, एकपक्षीय रूपमा प्यालेस्टिनी राज्यको मान्यता खोज्ने तथा आतंकवादको महिमामण्डन गर्ने गतिविधि गरेको आरोपसमेत लगाएको छ।

ट्रम्प प्रशासनले गत वर्ष पनि अब्बासलाई भिसा दिएको थिएन। त्यसपछि अब्बासले महासभालाई प्रत्यक्ष उपस्थित भएर सम्बोधन गर्न नपाई भिडियोमार्फत सम्बोधन गरेका थिए।

अमेरिकाको पछिल्लो निर्णय फ्रान्सलगायतका मुलुकले प्यालेस्टिनी राज्यलाई मान्यता दिने तयारी गरिरहेका बेला आएको हो। यसअघि फ्रान्स र साउदी अरेबियाको सहअध्यक्षतामा भएको दुई–राज्य समाधानसम्बन्धी सम्मेलनपछि राष्ट्रसंघका १४२ सदस्य राष्ट्रले प्यालेस्टिनी राज्यलाई समर्थन गरेका थिए।

अक्टोबर ७, २०२३ यता पश्चिम किनारामा इजरायली सैनिक वा बासिन्दाको कारबाहीमा कम्तीमा १ हजार १०९ प्यालेस्टिनीको मृत्यु भएको एएफपीले जनाएको छ। सोही दिन हमास नेतृत्वको आक्रमणमा इजरायलमा १ हजार २०० भन्दा बढी मानिस मारिएका थिए। त्यसयता गाजामा जारी इजरायली सैन्य कारबाहीमा ७३ हजार ७०० भन्दा बढी मानिस मारिएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको