एक वर्षमा ३५ हजार बिरामीले पाए सेवा, जनशक्ति र औषधि अभावमा जिल्ला अस्पताल

बाजुरा । जिल्ला अस्पतालमा एक वर्षमा करिब ३५ हजार बिरामीले उपचार सेवा लिएका छन् । गत आर्थिक वर्ष २०८२/८३ मा ३४ हजार ९५५ जना नागरिकको स्वास्थ्य जाँच तथा उपचार गरिएको छ । सो अवधिमा ३५१ जनालाई बाहिर ‘रिफर’ गरिएको थियो ।

चालु आवको भदौ मसान्तसम्म जिल्ला अस्पतालमा छ हजार ४६१ जना बिरामीले उपचार सेवा पाएका छन् । यहाँ जिल्लाका नौ वटै स्थानीय तहसँगै छिमेकी जिल्ला मुगु, कालीकोट र हुम्लाका नागरिकसमेत उपचारका लागि आउने गरेका छन् ।

त्यस्तै, चालु आवको दुई महिनामा मात्रै १३९ जनाको हाडजोर्नीसम्बन्धी सफल शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

करार कर्मचारीको भरमा अस्पताल

यहाँको जिल्ला अस्पतालमा हाल एक जना मेडिकल सुपरिटेन्डेन्ट (नवौँ तह) र एक जना आठौँ तहको चिकित्सकसहित कुल १८ जनाको दरबन्दी छ । तर अहिले निमित्त मेडिकल सुपरिटेन्डेन्ट (आठौँ तह) सहित जम्मा नौ जनाले काम गर्छन् । बाँकी मेडिकल अधिकृतसहित ८९ जना करार सेवाका कर्मचारी कार्यरत रहेको अस्पतालले जनाएको छ ।

‘संरचना पर्याप्त छ, ५० शय्याको अस्पताल हुनुपर्नेमा १५ शय्याको मात्रै हुँदा कर्मचारी पनि कम छन्’, उनले भने, ‘केही सेवा थप्यौँ, तर कर्मचारी अभावमा सेवा प्रवाहमा समस्या भइरहेको छ ।’

चिकित्सक मल्लले सुदूरपश्चिम प्रदेश सरकारले तत्काल जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरे दुर्गमका नागरिकलाई ठूलो राहत पुग्ने बताए ।

अस्पतालको भौतिक संरचना र सेवा विस्तारको तुलनामा जनशक्ति तथा दरबन्दी पर्याप्त नहुँदा उपलब्ध स्रोतसाधनबाटै सेवा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

दुई महिनापछि एमडीजिपी सेवा

हालै सुदूरपश्चिम प्रदेश सरकारले एमडीजिपी डाक्टर राहुल श्रेष्ठलाई छात्रवृत्ति करारमा खटाएपछि सेवा प्रवाहमा थप सहजता भएको अस्पतालका प्रमुख चिकित्सक मल्लले बताए ।

उनका अनुसार अर्थोपेडिक सर्जनको नियमित उपस्थितिले हाडजोर्नी तथा नसा रोगसम्बन्धी उपचार र शल्यक्रिया सेवामा थप सहजता भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रदेशको बजेट नआउँदा औषधि खरिद प्रक्रिया प्रभावित

सुदूरपश्चिम प्रदेश सरकारबाट चालु आवको बजेट नआउँदा औषधि खरिद प्रक्रिया अघि बढाउन समस्या भएको र अहिले जिल्ला अस्पतालमा निःशुल्क औषधिको अभाव हुने अवस्था सिर्जना भएको अस्पताल प्रमुख डा हरिशबहादुर मल्लले जानकारी दिए ।

‘फार्मेसीमा पर्याप्त औषधि छ’, उनले भने, ‘९८ प्रकारका निःशुल्क औषधि दिनुपर्नेमा करिब ५० प्रकारका औषधि निःशुल्क दिन्छौँ, खरिद गर्न बजेट नहुँदा समस्या भएको छ ।’

अस्पतालमा बिरामीको चाप बढ्दै गए पनि औषधि, उपकरण र जनशक्तिको व्यवस्थापनमा समस्या देखिएको छ । निःशुल्क औषधिको मौज्दातसमेत घट्दै जानथालेको छ । त्यसको प्रत्यक्ष असर दुर्गमका नागरिकमा पर्छ ।

भौतिक संरचना, विशेषज्ञ सेवा र शल्यक्रिया सेवामा क्रमशः सुधार हुँदै गए पनि पर्याप्त जनशक्ति, नियमित औषधि आपूर्ति, अत्याधुनिक उपकरण तथा बजेट व्यवस्थापन जिल्ला अस्पतालका प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

दुर्गमका नागरिकले लाखौँ रुपैयाँ खर्च गरेर सामान्य उपचारदेखि जटिल प्रकृतिका स्वास्थ्य सेवाका लागि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता अझै कम गर्न सकिने देखिन्छ ।

यद्यपि जिल्ला अस्पताल प्रशासन र व्यवस्थापन समितिको लापरबाहीका कारण बिरामीको उपचारका लागि समयमै चिकित्सक नआउने, बिरामीले विभिन्न दुःख भोग्नुपर्ने अवस्था सिर्जना भइरहेको भन्दै पटकपटक अस्पतालको विरोध पनि हुँदै आएको छ ।

विगतको तुलनामा अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा प्रदान गरिरहेको भए पनि पर्याप्त विशेषज्ञ चिकित्सक, अत्याधुनिक उपकरण, नियमित औषधि आपूर्ति तथा व्यवस्थापकीय पक्षलाई थप बलियो बनाउनुपर्ने स्थानीय विष्णु कार्कीले बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको