कारको ठक्करबाट ३० वर्षीया पार्वती भुजेलको मृत्यु

चितवन। चितवनको भरतपुरमा विद्युतीय कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ की ३० वर्षीया पार्वती भुजेल रहेकी छन्।

प्रहरीका अनुसार भरतपुर महानगरपालिका–१६ स्थित फुर्तिचोकबाट नाविनचोकतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३४ च ९२२१ नम्बरको विद्युतीय कारले शुक्रबार बिहान पैदलयात्री भुजेललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी भुजेलको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार सोही कारको ठक्करबाट अन्य दुई जना पैदलयात्रीसमेत घाइते भएका छन्। उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको