२४ घण्टामा देशभर २३ विपद्का घटना, ६ जनाको मृत्यु, ३ बेपत्ता

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा भएका विभिन्न प्रकृतिका २३ वटा विपद्का घटनामा परी छ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता र १० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ८ गते बिहान १० बजेदेखि कात्तिक ९ गतेसम्म भएका विपद्का घटनाबाट करिब २९ लाख चार हजार रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उक्त अवधिमा आगलागीका ११, सर्पदंशका नौ, लेक लाग्ने दुई र डुङ्गा दुर्घटनाको एक घटना भएका छन् ।

सर्पदंशका घटनामा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । त्यसैगरी, लेक लागेर एक जनाको मृत्यु र दुई जना घाइते भएका छन् । डुङ्गा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उक्त दुर्घटनामा नौ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार घाइतेहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ भने प्रभावित क्षेत्रमा क्षतिको विवरण सङ्कलन तथा आवश्यक समन्वयको काम जारी छ ।

मौसममा भइरहेको परिवर्तनसँगै विपद्को जोखिम कायमै रहेकाले आगलागी, सर्पदंश, उच्च हिमाली क्षेत्रमा लेक लाग्ने तथा नदी र तालमा डुङ्गा यात्रा गर्दा हुन सक्ने दुर्घटनाबाट बच्न आवश्यक सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।

सम्बन्धित खवर