मुगुका तत्कालीन कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित तीन जना र एक परामर्शदाता कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले सार्वजनिक सम्पत्तिमा ३९ लाख ४० हजार ३०९ रुपैयाँ हानिनोक्सानी पुर्‍याएको आरोपमा बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएकामा तत्कालीन कार्यालय प्रमुख रिमाल, तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल, काठमाडौँको नयाँ बानेश्वरस्थित एलाइड इन्जिनियरिङ प्रा.लि. र उक्त कम्पनीका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढा रहेका छन्। अख्तियारले प्रत्येक प्रतिवादीसँग ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो मागदाबी गरेको छ।

कार्यालयले कमिसन लिएर खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७ मा खानेपानी योजनाको डीपीआर निर्माणका लागि परामर्श सेवा खरिद गर्दा प्रचलित खरिद कानुनविपरीत प्याकेजिङ गरिएको पाइएको अख्तियारले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको