६ हजार शिक्षकको बढुवा पुनरावलोकन नतिजा प्रकाशन गर्दै आयोग

काठमाडौँ । शिक्षक सेवा आयोगले बढुवाको योग्यताक्रम सूचीमा परेका करिब ६ हजार शिक्षकको उजुरीमाथि पुनरावलोकन गरी नतिजा प्रकाशन गर्ने कार्यलाई तीव्रता दिएको छ।

आयोगका प्रवक्ता परशुराम तिवारीका अनुसार बढुवा सिफारिस समितिको सचिवालयबाट भएको निर्णयअनुसार ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको योग्यताक्रम सूची क्रमशः प्रकाशन भइरहेको छ।

‘शिक्षक सेवा आयोग कार्य सञ्चालन कार्यविधि, २०७८’ (संशोधनसहित) अनुसार प्राप्त कागजात तथा प्रमाण अध्ययन गरी सम्बन्धित जिल्ला र तहका शिक्षकको बढुवा नतिजा कायम गर्ने प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

विभिन्न प्रदेशका शिक्षा विकास निर्देशनालयबाट भएका कार्यसम्पादन मूल्याङ्कनविरुद्ध परेका उजुरीको अध्ययन तथा छानबिनपछि पुनरावलोकनको नतिजा सार्वजनिक गरिएको हो। आयोगका पदाधिकारी रिक्त रहेका कारण पछिल्लो छ महिनादेखि रोकिएको पुनरावलोकन कार्य अहिले पुनः अघि बढेको छ।

आयोगले कात्तिकमा माध्यमिक द्वितीय तहअन्तर्गत इलाम, सुनसरी, झापा र सोलुखुम्बु तथा असोज २९ गते प्राथमिक द्वितीय तहअन्तर्गत लमजुङ, बाग्लुङ, गोरखा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र कास्कीको पुनरावलोकन नतिजा प्रकाशन गरेको छ।

नेपाल सरकारले गत भदौ २५ गते डा. हरिप्रसाद लम्साललाई आयोगको अध्यक्षसहित पदाधिकारी नियुक्त गरेपछि पुनरावलोकन प्रक्रिया अघि बढेको हो। वैशाख १८ गते जारी सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ का कारण आयोगका पदाधिकारी रिक्त भएका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको