नागरिक र व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने पुराना कानुन खारेज तथा संशोधन गरिँदै : मन्त्री गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नागरिक तथा व्यवसायीको आर्थिक स्वतन्त्रता कुण्ठित गर्ने असान्दर्भिक कानुनहरू खारेज तथा संशोधन गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभएको छ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले यस्तो जानकारी दिनुभएको हो।

मन्त्री गौतमका अनुसार व्यवसायको लागत बढाउने, कार्यान्वयनमा गलत प्रयोग हुन सक्ने, अनावश्यक नियन्त्रणमुखी तथा वर्तमान सन्दर्भमा असान्दर्भिक देखिएका कानुनहरू खारेज तथा संशोधन गर्न लागिएको हो।

उहाँले उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदन र आर्थिक सुधारको मार्गचित्र, २०८१ ले दिएका सुझावका आधारमा पुराना तथा अनावश्यक कानुन हटाउन लागिएको स्पष्ट पार्नुभयो। आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा समेत यस्ता कानुन खारेज गर्ने विषय समेटिएको उहाँले उल्लेख गर्नुभयो।

प्रस्तावित विधेयकमार्फत प्रादेशिक विकास आयोजना कार्यान्वयन ऐन, २०१३, नेपाल मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लगायतका पुराना कानुन खारेज गर्ने प्रस्ताव गरिएको छ।

त्यसैगरी मूल्य अभिवृद्धि कर ऐन, २०५२, आयकर ऐन, २०५८ र भन्सार ऐन, २०८२ संशोधन गर्ने प्रस्तावसमेत विधेयकमा समावेश गरिएको मन्त्री गौतमले जानकारी दिनुभयो।

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन बाधक बनेका कानुनी व्यवस्था पहिचान गरी सुधारको प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उहाँले विधेयकमाथि थप सुझाव र छलफलका लागि सरकार खुला रहेको बताउनुभयो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको