शिक्षक आन्दोलनमा थिए सुदीपका पिता, पुर्वपत्नी र छोराछोरी काश्मिर गएको थाहै थिएन
Dhruba Neupane

April 24, 2025, Jyotishsanchar press

रुपन्देही । भारतको जम्मू-कश्मीरमा भएको आतङ्कवादी हमलामा २७ वर्षीय छोरा  सुदीप न्यौपानेलाई गुमाएका बुवा ध्रुव न्यौपाने मंगलबारसम्म काठमाडौंको शिक्षक आन्दोलनमा थिए । शिक्षक महासंघले गरेको आन्दोलनमा भाग लिइरहेका उनी काम विशेषले बुधबार बिहानै बुटवल आउन गाडी चढे ।

बुटवल उपमहानगरपालिका वडा नं १४ बेलबरियामा घर भएका ध्रुवलाई गाडी चढ्ने बेलासम्म पनि आफ्नो छोरा गुमेकाे पत्तो थिएन । श्रीमती, छोरा, छोरी र ज्वाई भारत घुम्न गएकोबारे समेत उनी बेखबर थिए ।

घटनाका विषयमा उनले बुधबार काठमाडौंबाट बुटवल आउने क्रममा बाटाेमै थाहा पाए ।

‘म काठमाण्डौको हाजिरी सकाएर घर फर्केको थिएँ । मलाई यस्तो घटनाको कुनै कल्पना थिएन् । तर बिहानै गाडी चढेपछि नै आफन्तहरुले लगातार फोन गरिरहे, तर सबै कुरा प्रष्ट पारेनन् । मलाई उनीहरु घुम्न गएको पनि पत्तो थिएन । गाडीमा एकछिपनि डाटा चलाएर फेसबुक खोलेको त छाँगाबाट खसेजस्तै भएँ’, उनले  भने, ‘त्यो पीडा कसलाई कसरी व्यक्त गरुँ, म अहिले घरमा आएको छु, अझै शव नेपाल आएको सूचना पाएको छैन ।’

धु्रव बुटवल १८ स्थित भवानी माविमा अध्यापन गर्ने शिक्षक हुन् । विद्यालयका प्रधानाध्यापक भरत अधिकारीले विक्षिप्त अवस्थामा गाडीमा फर्किरहेका सहकर्मीलाई सान्त्वना दिइरहेकाे बताए ।

त्यसो त धु्रवको श्रीमतिले केही वर्षअघि सम्बन्धविच्छेद गरेर बुटवलमा छोराछोरी राखेर अलग्गै बसेकी छन् । त्यही भएर पनि ध्रुवलाई सबै पारिवारिक सूचनाको जानकारी नभएको अधिकारी बताउँछन् ।

श्रीमतिले सम्बन्ध विच्छेद गरेपनि आफ्नो एकमात्रै छोराको २७ वर्षको अल्पायुमा गुमाउँदाको पीडा निकै कष्टकर भएको उनले बताए ।

‘मेरो रगतको सम्बन्ध हो, मैले सक्नेजति लगानी गरेको छ, एक छोरा र एक छोरी हुन्, छोरीको पोखरामा बिहे भएको छ’ उनले भने –‘मेरो ९० वर्षको बुवा आमा हुनुहुन्छ, मैले किरिया गर्न संस्कारले मिलेन तर घरमै शव ल्याएर बुवालाई किरिया गर्न अनुरोध गर्ने हो ।’

छोरासँग एक महिनाअघि भेट भएको स्मरण गर्दै धु्रवले भने, ‘छोरासँगको त्यो भेट र कुराकानी नै अन्तिम भयो, मलाई यही पीडा भोग्नुपरेको रहेछ, सबैको सल्लाहमा मूल घर भएको स्थानमा नै किरिया गर्ने वातावरण मिलाइयोस् मेरो अनुरोध हो, संस्कारले पनि त्यही नै भन्छ ।’

धु्रवका श्रीमति, छोराछोरी बुटवल उपमहानगरपालिका–११ होराइजनचोकस्थित मनकामना टोलमा घर बनाएर बसेका छन् । २७ वर्षीय सुदीप न्यौपाने केही दिनअघि आमा रिमा, बहिनी सुष्मा र ज्वाई उज्ज्वल काफ्लेसँग भारतको पारिवारिक भ्रमणमा हिँडेका थिए । सुदीपले एचएको अध्ययन पुरा गरेपछि काठमाडौँ गएर बीपीएच अध्ययन गरेका थिए ।

पछिल्लो समय उनी बुटवलको आधुनिक समाज डेन्टलसँग जोडिएर मुख स्वास्थ्य अभियान परियोजनामा काम गरिरहेका थिए । आधुनिक समाज डेन्टलका सञ्चालक अमृत भुसालका अनुसार सुदीपले मुख स्वास्थ्य अभियान लिएर प्युठान, भैरहवालगायतका ठाउँमा पनि पुगेका थिए ।

न्यौपाने यो परियोजनासँग जोडिएर ग्रामीण क्षेत्रका विपन्न वर्गको मुखको स्वास्थ्य केन्द्रित भएर काम गर्न रुचाउने गरेको उनले खुलाए ।

उनका छिमेकी राजेन्द्रकुमार आचार्य सबैसँग मिलेर काम गर्ने सक्ने सुदिपको अल्पायूमा भएको निधनले निकै चिन्ता लागेको बताए ।

‘मेरो घरअघि नै उहाँहरुको घर छ, उहाँहरु पारिवारिक घुमघाममा गएको सुनिएको थियो, एक्कासी यस्तो दुःखदायी खबर सुन्नुपर्यो’, उनले भने ।

खबरपछि अहिले उनको टोलको मनकामना पथ शोकमा परेको छ । बुटवल ११का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवल ११ होराइजन टोल मनकामना पथ निवासी सुदिप न्यौपानेको घटनाले निकै पीडा थपेको बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको