
April 27, 2025, Jyotishsanchar press
आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप हुँदा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की घाइते भएकी छन्।
आन्दोलनरत शिक्षक र प्रहरीबीच आज काठमाडौँको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएकी हुन्।
घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ।
समाचार संकलनका क्रममा सञ्चारकर्मी घाइते भएकोमा नेपाल पत्रकार महासंघले ध्यानाकर्षण भएको जनाएको छ।
‘नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक छ’ महासंघले आइतबार विज्ञप्ति प्रकाशित गरी भनेको छ, ‘यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासंघको ठहर छ।’
महासंघले घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।

