
April 28, 2025, Jyotishsanchar press
कैलालीमा प्रहरी हिरासतबाट हतकडीसहित भागेकी ५० वर्षीया एक महिला भारतमा पक्राउ परेकी छन्।
प्रहरी कष्टडीबाट फरार ५० वर्षीया मिना शाही दमाइ भारतमा पक्राउ परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टले जानकारी दिए।
एसपी विष्टका अनुसार भारतको पलियामा लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो।
हतकडीसहित भागेकी उनलाई नियन्त्रणमा लिएर अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याइँदैछ। मानव बेचबिखन कसुरमा म्याद थपका लागि सरकारी वकिल कार्यालय पु¥याएका बेला आइतबार दिउँसो शाही भागेकी थिइन्।
अभियुक्त शाहीलाई इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दा चलाएको थियो। वैशाख ४ गते पक्राउ परेकी उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिइन्।
अनुसन्धान गर्न पहिलोपटक ५ गते १० दिनको म्याद थप गरिएको थियो। दोस्रो पटक म्याद थपका लागि सरकारी वकिल कार्यालय पु¥याइएकी मिना फरार भएकी थिइन्। उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग छ।
शाही हत्कडीसहित अभियुक्त भागेको घटनामा दुई जना प्रहरी कारबाहीमा परेका छन्। अभियुक्तलाई सरकारी वकिल कार्यालयमा उपस्थित गराउने प्रहरी सहायक हवल्दार चक्र प्रसाद अधिकारी र प्रहरी जवान लोकराज जोशी कारबाहीमा परेका हुन्।
इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत उनीहरुलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बिष्टले बताए।

