विद्युत् आपूर्तिमा समस्या छैन, लोडसेडिङ पनि हुँदैन : प्राधिकरण
Electricity Authority Final One 5nl7vurvhe

April 28, 2025, Jyotishsanchar press

नेपाल विद्युत् प्राधिकरणले विद्युत आपूर्तिमा कुनै समस्या नरहेको र लोडसेडिङ पनि नहुने स्पष्ट पारेको छ । प्राधिकरणले विज्ञप्ति निकालेर विद्युत् आपूर्तिसम्बन्धी सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अहिले लोडसेडिङ नभएको र आउँदा दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने स्पष्ट पारेको हो ।

सामाजिक सञ्जालमा फैलिएका हल्ला भ्रामक भएको भन्दै प्राधिकरणले औद्योगिक क्षेत्रका ग्राहकलाई बेलुकाको समयमा खपत कम गरेर सहयोग गर्न अनुरोधसमेत गरेको छ । प्राधिकरणका अनुसार अहिले देशभर विद्युतको जडित क्षमता तीन हजार पाँच सय १२ मेगावाट रहेको छ । यसमध्ये प्राधिकरणको स्वामित्वमा रहेका जलविद्युत् आयोजना छ सय ६२ मेगावाट, सौर्य २५ मेगावाट, सहायक कम्पनीका आयोजना छ सय २३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित दुई हजार एक सय ४९ मेगावाट रहेको छ ।

अहिले आन्तरिक उत्पादन औसतमा एक हजार एक सय ७५ मेगावाट रहेकामा विद्युत्को उच्च माग (पिक लोड) दुई हजार ७७ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । जसमध्ये एक हजार पाँच सय ९३ मेगावाट उत्पादन सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिएको छ ।

प्राधिकरणले गर्मीयाम शुरु भएसँगै भारतमा पनि माग बढेकाले रातिको समयमा मागअनुसार विद्युत् आयातमा केही चुनौती भए पनि घरायसी ग्राहकलाई चौबिसै घण्टा तथा उद्योगलाई पनि अधिकांश समयमा आपूर्ति गरिँदै आएको दाबी गरेको छ ।

अहिलेको मौसमका कारण कतिपय ठाउँमा आँधीहुरी, चट्याङ र अविरल वर्षाले संरचनामा क्षति पुग्दा अस्थायी अवरोध हुनसक्ने प्राधिकरणले जनाएको छ । मर्मतसम्भार, भूमिगत लाइन विस्तार, सडक तथा खानेपानीको निर्माण कामका कारण पनि कतैकतै विद्युत् बन्द हुने अवस्था आउनसक्ने विज्ञप्तिमा उल्लेख छ । नेपालको नदीमा पानीको बहाव बढ्ने र भारतबाट पनि आपूर्ति सहज हुने अवस्था रहेकाले हालको समस्या चाँडै समाधान हुने प्राधिकरणले विश्वास लिएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको