विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य
Bidut X1pkdsq5vm

May 8, 2025, Jyotishsanchar press

जुम्लाको गुठीचौर गाउँपालिका–१ का ४८० घरधुरी तीन महिनादेखि विद्युत्विहीन भएका छन् । यस वडामा रहेको अदालीखोला लघुजलविद्युत् आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आएपछि नापानी, गढिगाउँ, मणि साँघु, डिल्लीकोट र मणि गाउँमा समस्या भएको स्थानीय परेक ऐडीले जानकारी दिए ।

गत फागुनदेखि ५५ किलोवाटको जेनरेटर र ट्रान्समिटर बिग्रिएपछि बिजुली आपूर्ति ठप्प भएको छ तर मर्मतका लागि सम्बन्धित निकायको ध्यान जान नसकेको स्थानीयवासीको गुनासो छ । बिजुली अभावले बालबालिकाको पठनपाठन, मोबाइल चार्ज, कुटानी–पिसानी मिल र स्थानीय फर्निचर उद्योगलगायतमा असर परेको स्थानीय गणेश ऐडीले बताए।

आयोजनाका अध्यक्ष जितेन्द्र लामाले आर्थिक अभावका कारण जेनरेटर र ट्रान्समिटर मर्मत गर्न नसकिएको बताए । गुठीचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराले मर्मतका लागि स्थानीय सरकारले रु तीन लाख विनियोजन गरिएको र आवश्यक परे थप बजेटको व्यवस्थापन गरिने बताए । अब चाँडै विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम हुने उनको भनाइ छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको