धुलिखेलमा करेन्ट लागेर मृत्यु भएका परियारको घरमा गाउँलेले हालिदिए छानो

मलङ्गवा । काभ्रेको धुलिखेलमा शनिबार करेन्ट लागेर ज्यान गुमाएका सर्लाहीको घारीबथानका उज्ज्वल भन्ने उपेश परियारको घरमा गाउँलेले मिलेर छानो हालीदिएका छन् । जेठ १ गते साँझ हावाहुरीले ईश्वरपुर नगरपालिका–१२ घारिबथानस्थित गोपी चोकका बासिन्दा उज्ज्वलको घरको छानो उडाएको थियो ।

छानो उडाएको दुई दिनपछि शनिबार उज्ज्वलको मृत्यु भयो । घारिबथानमा उहाँको घरबाहेक कसैको पनि क्षति भएको छैन । मृतकका बुवा केशव दमाई र श्रीमती सुशीला परियार पाँच वर्षको छोरा शिशिरलाई सँगै लिएर शव बुझ्न धुलिखेल पुगेका छन् ।

घरमा दृष्टिविहीन आमा विष्णु दमाई र उज्ज्वलकी आठ वर्षीया छोरी उर्मिला परियार मात्रै छन् । घटनापछि आइतबार बिहान उज्ज्वलका दुई विवाहित दिदी र अन्य आफन्त घरमा आइपुगेका छन् । शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्ज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिए ।

मृतकका आफन्त भैरव परियारले परिवारको मुख्य सहारा गुमेपछि निकै समस्या भएको बताए । परिवारले दिएको जानकारीअनुसार उज्ज्वल केही समयदेखि धुलिखेल क्षेत्रमा विस्तार भइरहेको हाइटेन्सन लाइनमा ठेकेदारमार्फत मजदुरको रूपमा काम गरिरहेका थिए । शनिबार धुलिखेल नगरपालिका–७ स्थित जिल्ला प्रशासन कार्यालय काभ्रे अगाडि हाइटेन्सन लाइनको खम्बामा चढेर काम गरिरहेका बेला एक्कासी विद्युत् लाइन छोड्दा उहाँको घटनास्थलमै मृत्यु भएको थियो ।

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले मृतक उज्ज्वलको शव घर ल्याउन र राज्यले प्रदान गर्ने राहत रकमका लागि आफूले काभ्रे प्रशासन तथा त्यहाँका जनप्रतिनिधिसँग समन्वय गरिरहेको बताए । नगरपालिकाको तर्फबाट मृतकको परिवारको घर निर्माणका र अन्य सहयोगबारे कार्यपालिका बैठकमा छलफल गरिने उनले बताए ।

Img 8457 Irxnga5py9

May 19, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको