प्रतिनिधि सभाबाट स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित, सुदूरपश्चिममा खुसियाली

कैलाली । प्रतिनिधि सभाबाट सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएसँगै सुदूरपश्चिम प्रदेशमा खुसियाली छाएको छ । विधेयक पारित भएको खुसियालीमा कैलालीको गेटास्थित विश्वविद्यालय भवन परिसरमै जम्मा भएर स्थानीयले दीप प्रज्वलन गर्दै खुसी मनाए । देउडा खेले, खुसी साटासाट गरे ।

विश्वविद्यालय स्थापनाका लागि दबाब दिन गठित सङ्घर्ष समितिका संयोजक लोकराज पाण्डेले विधेयक पारित गराउन भूमिका खेलेकामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल, सुदूरपश्चिम प्रदेशका जनप्रतिनिधिलगायत सबैलाई धन्यवादसहित बधाइ दिए । उनले भने, ‘विगतमा सुदूरपश्चिम हेपिएको थियो, अब यो उठेको छ, जागेको छ । विधेयक पारित हुँदा हामी निकै खुसी छौँ । अब चाँडै चिकित्सा शिक्षा पढाई सुरु हुनुपर्छ । त्यसका लागि सङ्घर्षको अभियान जारी रहन्छ ।’

प्रतिनिधि सभा बैठकले आइतबार उक्त विधेयक सर्वसम्मतिले पारित गरेसँगै सामाजिक सञ्जाललगायत माध्यमबाट धेरैजसोले खुसी व्यक्त गरिरहेका छन् । तत्कालीन गेटा मेडिकल कलेज (दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) का पूर्वकार्यकारी निर्देशक हेमराज पुजाराले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘विधेयक पारित गर्ने संसद्, नेपाल सरकारलगायत सबैलाई हार्दिक धन्यवाद । अब शीघ्र विश्वविद्यालय सञ्चालन भई गेटालाई मेडिकल शिक्षाको हब बनाउने सपना साकार हुनेछ ।’

अर्का पूर्वकार्यकारी निर्देशक भीमबहादुर साउदले विधेयक सर्वसम्मत रूपमा पारित भएकामा प्रतिनिधिसभा सदस्यप्रति आभार व्यक्त गर्दै बनेका संरचना जीवन्त हुने अवसर प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका छन् । स्थानीयवासी तीर्थराज ओझाले विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक पारित भएको सुन्दा खुसी लागेको बताए । उनले भने, ‘विश्वविद्यालय सञ्चालनमा आए यसले मेडिकल शिक्षामार्फत सुदूरपश्चिममा समृद्धि ल्याउन कोशेढुङ्गाको काम गर्नेछ ।’

कैलालीको गोदावरी नगरपालिका–५ गेटामा भवन संरचना निर्माण सम्पन्न भए पनि यहाँ सञ्चालनका लागि ठोस पहल नभएको भन्दै स्थानीयवासी तथा यहाँका सरोकार भएकाहरू असन्तुष्ट थिए । लामो समयसम्म स्वास्थ्य विज्ञान प्रतिष्ठान वा विश्वविद्यालय स्थापना गर्ने भन्नेबारे अन्योल देखिएपछि नागरिक तहमा आक्रोस बढिरहेको थियो ।

यही अन्योलका बीच स्थानीयवासीले गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको मागसहित समाजसेवी लोकराज पाण्डेको नेतृत्वमा दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएका थिए । ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक पारित भएसँगै अब भने विश्वविद्यालय स्थापना हुने सुदूरपश्चिमवासीको सपना साकार भएको छ’, पाण्डेले भने, ‘विधेयक पारित भएसँगै नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको बाटो खुलेकाले थप हर्षित छौँ ।’

यहाँ गतवर्षदेखि न्यूनतम उपचार सेवासहितको अस्पताल सञ्चालन भइरहेको छ । अस्पतालमा जनरल ओपिडि, हाडजोर्नी, जनरल सर्जरी ओपिडि, हाडजोर्नी तथा नशारोग विशेषज्ञ सेवा, स्त्रीरोग, अल्ट्रासाउण्ड, एक्स रे, प्रयोगशाला र फार्मेसीलगायत सेवा उपलब्ध भइरहेका छन् ।मेडिकल कलेजको नाममा निर्माण भएका भवन संरचनामा सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय तत्कालीन मन्त्रिपरिषद्को बैठकले गरेको थियो । अत्याधुनिक भवनलगायत संरचनामा सरकारले रु छ अर्बभन्दा बढी खर्च गरिसकेको छ । यहाँ ठूला साना गरी ४२ भन्दाबढी भवन संरचना निर्माण भएका छन् ।

सरकारले वि.सं. २०६६ मा कैलालीको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो । यसअघि काँचीकामा कोठी पीठका जगतगुरु शङ्कराचार्यको पहलमा विसं २०५६ मा गेटामा आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाको पहल भएको थियो तर तत्कालीन सशस्त्र द्वन्द्वलगायत कारणले त्यसको कार्यान्वयन हुन सकेन । कलेजको भोगाधिकारमा रहेको जग्गामध्ये झण्डै छ बिघा जग्गामा मुक्तकमैया परिवारको बसोबास छ ।

1 1 Mnszj4brv4

May 20, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको