धुलिखेल अस्पतालमा निर्माण हुने ट्रमा सेन्टरकाे बुधबार प्रधानमन्त्रीले शिलान्यास गर्ने

धुलिखेल । काभ्रे जिल्लामा मात्रै नभएर देशकै उत्कृष्ट अस्पतालकाे रुपमा परिचित धुलिखेल अस्पतालमा ट्रमा सेन्टर निर्माण हुने भएकाे छ ।

नेपाल सरकार र जापान सरकारकाे साझेदारीमा निर्माण हुने एक सय शैयाकाे ट्रमा सेन्टरकाे बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुहुने भएकाे छ । अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै यसकाे जानकारी दिएकाे हाे ।

धुलिखेल अस्पतालले अरनिको राजमार्ग र विपी राजमार्गले ओगट्ने ठूलाे भूभागका नागरिकलाई गम्भीर चोटपटक र आकस्मिक स्वास्थ्य समस्याको लागि उपयुक्त उपचार प्रदान गर्ने उद्देश्यले धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको अवधारणा सन् २०१४ मा सम्बन्धित निकायहरुमार्फत् र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाललाई प्रस्तुत गरेको थियो । सोही प्रस्तावना अनुसार विभिन्न चरणको स्थलगत निरिक्षण, बैठक, संवाद र समन्वयपछि सन् २०२३ अक्टोबर र २०२५ मे मा नेपाल सरकार र जापान सरकारको रोहबरमा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाल र अर्थ मन्त्रालयबीच ३.८७९ विलियन जापानिज ऐन लगानी बराबरको १०० शैयाको धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको निर्माणको सम्झौतामा हस्ताक्षर भएकाे थियाे । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस परियोजनाको कार्यकारी निकाय र धुलिखेल अस्पताल कार्यान्वयन निकायको रुपमा रहने आयाेजित पत्रकार सम्मेलनमा धुलिखेल अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. रामकण्ठ माकाजुले जानकारी दिनुभयाे ।

यसै क्रममा जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी नेपाल तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रतिनिधीको उपस्थितिमा, अप्रिल २०२५ मा टाेडा कर्पाेरेशन टाेकियाे जापान निर्माण कार्यको लागि छनौट भई प्रारम्भिक कार्य शुभारम्भ गरिसकिएको छ । अस्पताललाई चाहिने अत्याधुनिक उपकरणहरु जस्तै सिटीस्क्यान, एम.आर. आई मेसिन, शल्यक्रिया कक्ष, भेन्टिलेटर, एक्सरे मेशिन लगायत अस्पतालका बेडहरुसहित जुन २०२७ मा हस्तान्तरण गरिने योजना रहेको छ ।

धुलिखेल अस्पताल ट्रमा तथा इमरजेन्सी सेन्टरको सञ्चालनपछि काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, भक्तपुर जिल्लाकासाथै विपी राजमार्गले जोड्ने तराईका जिल्लाहरुका गम्भीर घाइते र आकस्मिक स्वास्थ्य उपचार तत्काल आवश्यक भएका विरामीहरुले समयमै सेवा र सुविधा पाउनेछन् भन्ने आशा र विश्वास धुलिखेल अस्पतालले लिएको छ ।

94bfb9f5 5307 4af3 87aa 3bb76914acfd

May 27, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको