धुलिखेल । जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकको आयोजनामा बिहीबार डेंगी रोग नियन्त्रण तथा रोकथामसम्बन्धी अन्तर्क्रिया सम्पन्न भएको छ । कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत धुलिखेलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा डेङ्गु सार्ने लामखुट्टेको वासस्थान पहिचान गरी लार्भा नष्ट गर्ने कार्य र स्थानीय तहहरूसँगको समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले पत्रकार तथा सरोकारवालाहरूसँग संवाद पनि गरियो ।
कार्यक्रममा कार्यालयका जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले डेंगी राेगका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयाे । उहाँले लामखुट्टेको जीवनचक्र र डेंगी राेग लाग्ने कारण तथा नियन्त्रणका बारेमा जानकारी दिनुभयाे । उहाँका अनुसार डेंगी संक्रमण एडीज एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। डेंगी फैलाउने लामखुट्टे सामान्यतया बिहानको समय ८–१० बजे र दिउँसो ३–५ बजे बढी सक्रिय हुन्छ । संक्रमित व्यक्तिलाई टोकीसकेको लामखुट्टेले अर्को स्वस्थ व्यक्तिलाई टोकेमा संक्रमण सर्ने सम्भावना उच्च रहने श्रेष्ठले बताउनुभयाे ।

June 12, 2025, Jyotishsanchar press

