काठमाडौँ । भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । भारतीय दूतावासले आज एकैसाथ काठमाडौँ, वीरगन्ज, पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरी एम्बुलेन्स हस्तान्तरण गरेको जनाएको हो।
नेपालका सात प्रदेशका ३३ जिल्लाका विभिन्न संस्थालाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ। तीमध्ये काठमाडौँस्थित भारतीय दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरूलाई २२ वटा एम्बुलेन्सको चाबी हस्तान्तरण गरे ।
यस्तै, वीरगन्जमा र पोखरामा सात सात तथा धरानमा र चारवटा एम्बुलेन्स प्रदान गरिएका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा दूतावासका नियोग उपप्रमुख श्रीवास्तवले भारत–नेपाल विकास साझेदारी अन्तर्गत नेपालको स्वास्थ्य पूर्वाधार सुदृढ बनाउन यो सहयोग महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा एम्बुलेन्स प्राप्त गर्ने संस्थाका प्रतिनिधिहरूले भारत सरकारको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै नयाँ एम्बुलेन्सले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । भारत सरकारले सन् १९९४ यता नेपालभरिका स्वास्थ्य संस्थाहरूलाई एक हजार ४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ । यस्तै, तीन दशकदेखि शिक्षा, निर्वाचन र सार्वजनिक सेवाका विभिन्न क्षेत्रमा स्कुल बसदेखि विद्युतीय गाडीसमेत उपलब्ध गराउँदै आएको विज्ञप्तिमा उल्लेख छ ।

June 14, 2025, Jyotishsanchar press

