काठमाडाैं । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि वर्षा भइरहेको छ । हाल बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा कोशी, मधेस र लुम्बिनीको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज लुम्बिनी प्रदेशको तराईका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशसहित देशका पहाडी भू-भागमा साधारण बदली र बाँकी स्थानमा आंशिक बदली छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। यी प्रदेशका केही स्थान तथा बाँकी भेगका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।
महाशाखाले राति देशभर साधारणतया बदली रहने जनाउँदै पहाडी भू-भागका धेरै स्थान र बाँकी भेगका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागसँगै लुम्बिनी र कोशी प्रदेशको तराईका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
महाशाखाले वर्षाका कारण पहिरो, बाढी तथा पानीको सतह बढ्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।

August 28, 2025, Jyotishsanchar press

