काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले शनिबार र आइतबार मनसुनी वायु थप बढी सक्रिय हुँदा देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
महाशाखाले शुक्रबार साँझ मौसमी बुलेटिन जारी गर्दै आगामी २४ घण्टामा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाे जनाएकाे छ ।
मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको जानकारी दिएको छ । अरब सागर र बङ्गालको खाडीमा उत्पन्न भएको मनसुनी वायु शनिबार बिहानदेखि थप सक्रिय रहने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
मौसमविद् प्रतिमा मानन्धरले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिँदै शनिबार र आइतबार मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको तथा सोमबारदेखि भने मौसम क्रमिकरुपमा सुधार हुने जानकारी दिइन् ।

October 4, 2025, Jyotishsanchar press

