काठमाडौँ । मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि निर्वाचन आयाेगले आगामी कात्तिक मसान्तसम्मकाे समयसीमा ताेकेकाे छ। आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै आयाेगले सम्बन्धित सबैलाई फाेटाे खिचाउन भनेकाे छ ।
आज एक सूचना जारी गर्दै आयाेगले देशभरका जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने जनाएको हाे।
सूचनामा आयोगले अनलाइन फारम भरेका व्यक्तिहरूले नजिकको कुनै पनि जिल्ला निर्वाचन कार्यालयमा गएर आवश्यक प्रक्रिया पूरा गर्न सक्ने उल्लेख गरेकाे छ। यसका लागि अनलाइन आवेदन applyvr.election.gov.np बाट भरेपछि आवेदकले फोटो खिचाउने र बायोमेट्रिक दिने मिति र स्थानबारे जानकारी लिन सक्नेछन् ।
यस व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्रका मिनभवनस्थित जिल्ला निर्वाचन कार्यालय, जावलाखेलस्थित ललितपुर जिल्ला निर्वाचन कार्यालय र सल्लाघारी सिर्जनानगरस्थित भक्तपुर जिल्ला निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने आयाेगले उल्लेख गरेकाे छ।

October 8, 2025, Jyotishsanchar press

