भट्टराई राजन कुमार
काठमाडाैं । करिब बयालीस बर्ष अगाडितिरको कुरा होला । तीज आउँदै गर्दा माइती पक्षले चेलीबेटी लिन को जाने र कसरी जाने ? भन्ने चर्चा भाद्र महिनादेखि नै सुरु हुन्थ्यो।
संयुक्त परिवार र टोल मिलेर बस्ने र सो टोलमा प्राय एउटै वंशको बसोबास हुन्थ्यो । त्यस कारण पनि ( एउटा एरिया )निश्चित गाउँ र त्यस गाउँमा आवतजावत गर्दा पर्ने स्थानमा दिएका आफ्ना घरका देखि छिमेकी दिदीबहिनीहरुलाई समेत म लिन आएको भनेर घरपरिवारसँग भेटेर भन्नुपर्ने हुन्थ्यो। यदि लिन नगएको अवस्थामा पठाउने चलन थिएन। कारणबस कोही जान सकेनन् भने चेलीबेटी माइतीघर सम्झेर रुन्थे।
गोठमा गाई, गोरु, भैंसी र खोरभित्र बाख्रा, खसी, बोका हुने भएकाले घाँस, स्याउला मनग्य चाहिने हुन्थ्यो । त्यसकारण तीजको लागि भनेर करेसाबारी, सागबारी, रछ्यान पाटा आदि ठाउँका घाँस जोगाएर राख्ने चलन थियो र एक दुई दिन अघि नै घाँस काटेर राखिदिएर माइती जाने चलन पनि थियो। आफ्नो खेतबारीमा प्रशस्त घाँस नहुनेले अर्कैको घर गोठ छाउनका लागि जोगाएका खरपाखाको खरसमेत बाँकी राख्दैन थिए । हामीले थाहा पाए अनुसार विशेषगरी यो व्रत बसेपछि श्रीमानको आयु बृद्धि हुने र परिवारकोमा सुखशान्ति प्राप्त हुन्छ भन्ने सुनिन्थ्यो।
अरु व्रतहरूभन्दा फरक किसिमको तीजको ब्रत बस्दा पानी पनि नखाई ब्रत बस्ने चलन थियो । सायद त्यसकारण भोलिपल्टका लागि तागत ( शक्ति) मिलोस भनेर अघिल्लो दिन खानेकुरा खाइने भएका कारण दर भनिएको होला।
दर व्रतको अघिल्लो दिन खाइन्थ्यो । दर खाँदा माछामासु खाने चलन थिएन । दर पनि आफ्नो क्षमता अनुसार खिर, ढकनी कसैले सेल पुरी, घरमा दुहुनो (दही दुध) नभएकाहरुले भालुको फोटो भएको सानो टिनको बट्टामा लेदो दुध पाइन्थ्यो । त्यसैमा पानी मिलाएर खिर बनाउने गरिन्थ्यो। पन्चमीको दिनको लागि अगाडि देखि नै दत्तिउन ल्याएको हुन्थ्यो र सो दत्तिउनको डाँठ र पात गनेर छुट्टाछुट्टै मुठा बनाएर पन्चमीको दिनको लागि तयार पार्ने चलन थियो।
तीजका बेलामा माइतीघर गएर मिठो मसिनो खाने आफूले बर्षभरी भोगेका आफ्ना पीडालाई गीतका माध्यमबाट ब्यक्त गरेर आफ्नो मन हलुका बनाउने माध्यम जस्तै लाग्थ्यो ।

August 24, 2025, Jyotishsanchar press

