काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले हस्तकला व्यवसायसम्बन्धी नीति, कला संरक्षण, रोजगारी सिर्जना र हस्तकला सीपको पुस्तान्तरणमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपाल हस्तकला व्यवसायी महासङ्घका प्रतिनिधिहरूसँग बुधबार भएको भेटमा उनले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएका हुन्।
प्रधानमन्त्री शाहले हस्तकला सामग्री निर्यातमा हाल स्वघोषणाको आधारमा भइरहेको प्रणालीको सट्टा बिजक मूल्याङ्कन अनिवार्य गर्ने व्यवसायीहरूको सुझाव कार्यान्वयन गरिने आश्वासन दिएका छन्। यसबाट राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ।
त्यस्तै, हस्तकला सामग्री निर्यातमा उपलब्ध हुने पाँच प्रतिशत प्रोत्साहन रकम विगत तीन वर्षदेखि रोकिएको विषयमा त्यसलाई पुनः निरन्तरता दिने पहल गरिने आश्वासन पनि प्रधानमन्त्रीले दिएका छन्।

