खानीखोला गाउँपालिका अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट

१) खानीखोला गाउँपालिकाको १७ औं गाउँसभामा उपस्थित उपाध्यक्षज्यू, प्रमूख प्रशासकीय अधिकृतज्यू, वडाध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु, सम्पुर्ण कर्मचारी साथीहरु, उपस्थित पत्रकार मित्रहरु एवं गाउँवासी सम्पुर्ण आमावुवा, दाजुभाई तथा दिदीवाहिनीहरु, खानीखोला गाउँपालिकाको यस १७ औं गाउँ अधिवेशनको सभामा हार्दिक स्वागत एवं न्यानो अभिवादन छ । यस अवसरमा सर्वप्रथम मुलुकको सार्वभौम सत्ता, संघीयता, समानुपतिक समावेशिता, धर्मनिरपेक्षिता, नेपालको स्वाधिनता र स्वाभिमानको रक्षा गर्नका लागि जनयुद्ध र जनआन्दोलनका क्रममा जीवन उत्सर्ग गर्नुहुने सम्पुर्ण अमर योद्धाहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ जीवनपर्यन्त संघर्ष गर्नुहुने आदरणीय नेतृत्व वर्गहरुप्रति हार्दिक सम्मान गर्दछु ।

२) गत असोज १० गतेदेखि १२ गते सम्म लगातार परेको भिषण वर्षाको कारण देशव्यापी रूपमा सयौंले ज्यान गुमाउनुका साथै नागरिकको अरबौंको धन (सम्पत्ती एवं अरबौंको सार्वजानिक सम्पतिमा क्षति पुगेको छ । यस अन्तर्गत खानीखोला गाउँपालिका पनि अछुतो रहन सकेन । यस पटकको यो भयानक प्राकृतिक प्रकोपबाट खानीखोला गाउँपालिकाबाट २ जनाले ज्यान गुमाउनु परेको र गाउँपालिका भरी बागमती नदिले बगाएर र पहिरोले पुरिएर जम्मा १५१ घरहरू पूर्ण तथा आंशिक रूपमा क्षति भएका छन । यस क्रममा सयौं रोपनी खेतबारी, ५० वटा भन्दा बढी खानेपानीको संरचना, ४० वटा भन्दा बढी सिंचाई तथा पानीघट्टको कूलोहरू विनाश भएका छन । बागमती नदीले मकवानपुर जोड्ने चनौटे–फार्सा र महाङ्कालको झोलुङ्गे पूल बगाएको छ । दर्जनौको संख्यामा गोठहरू भत्किएका छन । गाउँपालिकाको केन्द्र र वडा केन्द्र जोड्ने एवं प्रदेश तथा जिल्ला सदरमुकाम जोड्ने सबै सडकहरू पूर्ण रूपले क्षति भई आवत–जावत बन्द समेत भएको थियो ।

बागमती नदी तथा पहिरोको कारण दर्जनौ विद्युतको पोलहरू बगाउनुका साथै क्षतविक्षत अवस्थामा रहेकोले विद्युत आपुर्ति पूर्ण रूपले बन्द भएको साथै वडा नं. ६ स्थित थुम्किमा रहेको एकमात्र नेपाल टेलिकमको टावर सम्म नेटवर्क सप्लाई अवरुद्ध भएर यस गाउँपालिका संचार विहीन अवस्थामा रहनु परेको थियो भने यसैबीच हामी गाउँपालिकाको जनप्रतिनिधिहरू, कर्मचारीहरू एवं स्थानीय सुरक्षाकर्मीहरूद्वारा पीडिति नागरिकहरूको उद्धार गरी प्रारम्भिक राहतको बन्दोबस्त गरिएको थियो । अतः विपदको त्यस घडीमा थप मानवीय क्षति हुनबाट बचाउन र अप्ठ्यारामा परेका नागरिकरहरूलाई उद्दार गर्नका लागि सरकार, राजनीतिकदलहरू, बुद्धिजीविहरू र आम नागरिकहरूको आपसी सहयोग र सदभावसहित हातेमालो सहित अहम भूमिका प्राप्त भएको थियो । त्यस बखतको परिस्थितलाई सहज तुल्याउन गाउँपालिकाद्वारा हेलिकप्टरबाट इन्धनको व्यवस्था गरी बाटो निर्माण गरियो र उल्लेखित विपदहरू न्यूनिकरण गरी गाउँपालिकालाई यथास्थितिमा सञ्चालन गरेको थियो ।
उपस्थित गाउँसभाका सदस्यज्यूहरू

३) नेपालको संविधान बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत हुँदै गईरहेको छ । यस संविधान कार्यान्वयन भई दुई वटा संघ, प्रदेश तथा स्थानीय तहको निर्वाचन समेत सम्पन्न भइसकेको छ । संघ र प्रदेशको स्थापना पश्चात जनताले राज्यको प्रत्यक्ष रुपमा प्रत्यभूति गर्न पाएका छन् । एकात्मक शासन व्यवस्थाले २४० वर्षमा नगरिएका विकास संघीयताको विगत वर्षले गरेको छ ।

४) संघ, प्रदेश र स्थानीय सरकारबिचको आपसी समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्त अनुरुप संघीय र प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई आधार मान्दै आफ्नो सामाजिक र राजनीतिक अभियान्तको रुपमा प्राप्त अनुभूतिहरु, गाउँपालिका प्रमुखको रुपमा झण्डै यो ३महिनाको कार्यकालमा प्राप्त अनुभव, जनआकांक्षा, विद्यमान श्रोतसाधन र विभिन्न तहबाट प्राप्त सल्लाह सुझावहरुलाई आत्मसात गर्दै आज यस गरिमामय अधिवेशनमा आ.व. २०८१÷०८२ का लागि स्वीकृत गरेको नीति तथा कार्यक्रम वमोजिम यो लगभग १ वर्षको अवधिमा भएका मुख्य उपलब्धिहरु बुँद्धगत रुपमा यहाँहरु समक्ष राखे अनुमति चाहान्छु ।

सडक पूर्वाधारमा निर्माणको क्षेत्रमा बन्दै गरेको तालढुंगा उदयीमान सहरी विकास कार्यक्रम, जनमुक्ति–मार्ग, खानीखोला करिडोर, खोपासी–तालढुंगा, तालढुंगा–हेलटार, सिक्रेदोभान पुल, खानीखोला पक्की पुल, दुर्लुङखोला पुल ढिलै भएपनि सम्पन्नताको चरणमा रहेको अवस्थाले हामीलाई विगतभन्दा थप आशावादी बनाएको छ ।

कृषिमा जसको उत्पादन उसैलाई अनुदान कार्यक्रमका साथ साथै एक वडा एक उत्पादन कार्यक्रम मार्फत कफीको व्यवस्थित एवं व्यवसायिक खेतीको शुरुवात क्रममा यस साल मात्रै वडा नं. २ मा चालिस हजार थप बेर्ना रोपन कार्यक्रम उत्साहजनक ढंगले सम्पन्न भएको अवस्थाले किसानहरूमा ऐतिहासिक जागरण आएको छ । साथै वडा नं. २ मा अदुवाखेती प्रति भएको किसानको व्यापक आकर्षणले व्यवसायिक उत्पादनको नयाँ आयाम थपिएको छ ।

यस गाउँपालिकाको अर्को मुख्य उत्पादन भनेको “खुवा” हो वार्षिक १२ करोड बराबरको खुवा यस पालिकाबाट निर्यात हुने गरेको छ । यसलाई थप आकर्षित तुल्याउन हामीले खुवाको औधोगिकरण तर्फ जोड गर्नुपर्ने देखिन्छ ।

खानीखोला गाउँपालिका सरकारको अति लोकप्रिय कार्यक्रम “स्थानीय उत्पादन खरिद विक्री केन्द्र” हो यस वर्ष यस कार्यक्रमबाट हामीले आशा तित लक्षित सफलता हासील गर्न सकेनौ । यसको संचालक पक्षको तर्फबाट पालिका सरकारसँग गरिएको सम्झौता बमोजिमको क्रियाकलाप अगाडी नबढाउनाले हामी दुःखी पनि छौं, यसका बावजूद आगामी वर्षबाट यसलाई अझ व्यवस्थित र सुदृढ ढंगले संचालन गर्न जोड दिनुपर्ने देखिन्छ ।

हाम्रो कार्य सम्पादनलाई मुल्याङ्कन गरेर स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (ीक्ष्क्ब्) मा यसपटक पनि सदाको झै काभ्रे जिल्ला भित्रका गाउँपालिकाहरू मध्ये हामी प्रथम भई जिल्ला समन्वय समितिको कार्यालय, धुलिखेल, काभ्रेबाट सम्मानित हुँदै सम्मानपत्र समेत प्राप्त गरेका छौं । यसका लागि हामी सबैजना बधाईका पात्र भएका छौं ।

यस खानीखोला गाउँपालिका नियमित रुपले बेरुजु शुन्य बनाउने हाम्रो प्रयत्न भएतापनि खर्च प्रणालीमा देखापरेका कतिपय सैद्धान्तिक एवं नीतिगत प्रकृयामा त्रुटी हुन गई बेरुजुको आकार बढेको छ । बेरुजु भ्रष्टाचार होइन । तर सुशासनको एउटा महत्वपूर्ण पक्ष भएको हुनाले यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । आगामी दिनमा यसलाई सुधार्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

यस वर्ष यस खानीखोला गाउँपालिकाको समन्वय र प्रयत्नमा नेपाल टेलिकम मार्फत पालिका केन्द्रलाई लक्षित गरी मकवानपुरको बलदेउमा र पालिकाको १, २, ३ र ४ को माथिल्लो क्षेत्रलाई लक्षित गरी वडा नं. ३ को आहालेमा टेलिकम टावर थप गर्न सफल भएको छौं ।

गाउँपालिकाको लेखा प्रणालीलाई व्यवस्थित बनाउन र सार्वजनिक सेवामा चेक मार्फत भुक्तानी गर्ने झन्झटिलो प्रचलनलाई अन्त्य गर्ने उद्देश्यले (भ्ँत्) प्रणाली लागु गरिएको छ ।

असोज १०–१२ गतेको भिषण अविरल वर्षाका बाबजुद स्थानीय सडकहरुको मर्मत एवं सरसफाई गरी सर्वाजनिक यातायात सेवालाई सञ्चालन गरिएको छ ।

शहरी विकास तथा भवन कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकको सहयोगमा खानीखोला गाउँपालिका वडा नं. ५ र ६ मा उदीयमान शहर ताल्ढुंगा आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (क्ष्भ्भ्) भई बहुवर्षिय ठेक्का समेत भई निर्माण कार्य अघि बढेको छ ।

आ.व. २०८१÷०८२ मा गाउँपालिकाको समग्र विकासलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न गाउँ कार्यपालिकाबाट कार्य तालिका स्वीकृत गरी सो वमोजिम कार्य अगाडी बढाइएको छ ।
खानीखोला गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य तिव्र रूपमा भई रहेको छ ।

वागमतीमा पक्की पुल बन्दा खानीखोलावासीको जीवनमा अभुतपुर्व परिवर्तन ल्याउन सकिने कुरालाई मध्यनजर गरी सो पुल छिटोभन्दा छिटो सम्पन्न गर्न÷गराउन सम्बन्धित निर्माण व्यवसायीसँग निरन्तर फलोअप गरिएको छ ।

खानीखोला गाउँपालिकामा केन्द्रिय विद्युतीकरण जडान गर्नका लागि पोल तार पुग्न बाँकी रहेको वस्तीहरुको लागि थप पोल र तार व्यवस्थापन गरी कूल विद्युतिकरण २५०० घर धुरी मध्ते २२०० घरमा विद्युतिकरण गर्न सफल भएको छ ।

खानीखोलाको निर्माणाधीन आधारभूत अस्पताल छिटोभन्दा छिटो सम्पन्न गराउन गरिएको पहल जारी रहेको छ भने सो अस्पतालको दुईवटा भवन मध्ये एउटा भवन सम्पन्न भई सकेकोले उक्त भवन उपयोगमा ल्याई आधारभूत अस्पताल संचालन गर्ने तयारी भएको भएता पनि त्यस निर्माण कार्यलाई निरन्तर दिनुपर्ने भएकोले हाललाई स्थगन गरिएको छ ।

यस गाउँपालिकाको विशेष योजनाको रुपमा रहेको जनमुक्ति मार्ग सम्पन्न हुने अन्तिम चरणमा रहेको छ ।

गाउँमै रही उद्यमी बन्नको लागि बागमती प्रदेश सरकारको लोकप्रिय कार्यक्रम गृहणी महिला सशक्तिकरण कार्यक्रम यस आ.व. मा वडा नं. १, २ र ३ मा लागु गरी ३ वटा समूह मार्फत ९० जना महिलाहरूलाई मौरीपालन, साबुन बनाउने र चकटी बुन्ने तालिम सम्पन्न गरेको छ ।
खानीखोला गाउँपालिकाभित्र गर्भवती÷सुत्केरी महिलाहरुका लागि एकतर्फी एम्बुलेन्स सेवा निशुल्क रुपमा विगतमाझै निरन्तर सेवा उपलब्ध गराइएको छ ।

गाउँपालिकाभित्रका सम्पुर्ण ६० वर्षमाथिका जेष्ठ नागरिक र दिर्घरोगीहरुको प्रत्येक महिनाको अन्तिम सातामा घुम्ती स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ

१) गाउँपालिकाभित्रका दीर्घरोगी (क्यान्सर रोग, मृगौला प्रत्यरोपण, डाइलासिस, मेरुदण्डको पाक्षघात) भएकालाई मासिक ५ हजारका दरले भत्ता उपलब्ध गराउन नेपाल सरकारको नीति अनुरुप सेवा उपलब्ध गराइएको छ ।

पालिकाभित्रका ३वटा विद्यालयका प्रधानध्यापकहरुसँग अन्तरक्रिया गरी शिक्षण सिकाईलाई थप प्रभावकारी र उपलब्धि मूलक बनाउन आवश्यक कार्ययोजना निर्माण गरिएको छ ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका विभिन्न वर्थिङ सेन्टरहरु मार्फत १४१ जना सुत्केरी गराइएको छ । त्यस्तै गाउँपलिकाभित्रका विभिन्न स्वास्थ्य चौकीहरुमा गएको यस आर्थिक वर्षमा १४ हजार ५ सय जनाले बहिरंग उपचार सेवा प्राप्त गरेका छन् ।

गाउँपालिका अन्तर्गत रहेको श्री जनविकास माध्यमिक विद्यालय र श्री कुमारी माध्यमिक विद्यालयहरूको छात्रवास निर्माण कार्य अगाडी बढाइएको छ । गाउँपालिकाबाट आवसीय शिक्षा मार्फत १४ जना आमाबाबु बिहिन बालबालिकालाई व्यवस्थित शिक्षण प्रदान गर्दै आएको छ ।

गाउँपालिकाको आयोजनामा महिलाहरूको आङखस्ने र पाठेघरको मुखको क्यान्सर सम्बन्धि शिविरसमेत निःशुल्क गरेको छ । गाउँपालिकाका बालबालिकाको सर्वाङ्गीण विकासका लागि राष्ट्रपति रनिङ शिल्ड र अन्य अतिरिक्त क्रियाकलापहरूको आयोजना गरी विद्यालयहरूलाई एक अर्कामा प्रतिस्पर्धात्मक ढंगले अगाडी बढ्न प्रेरित गरिएको छ र अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गरिएको छ ।

खानीखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्न सफल भएको छ ।
सामाजिक सुरक्षा वापतको रकम निकासा लिनको लागि वडाहरुवाट गाउँपालिकाको केन्द्रमा नै आएर लिनु पर्ने अवस्थालाई हटाउनको लागि दोस्रो चौमासिकदेखि नै बैंक र गाउँपालिकाका कर्मचारी वडामा नै गएर वडाबाटै रकम भुक्तानी गर्ने गरेको छ ।

जिल्ला कृषि विकास कार्यालय, काभ्रेपलाञ्चोक र गाउँपालिकाको साझेदारीमा वडा नं. २ लाई समुदायमा आधारित “एक वडा एक कृषि उत्पादन“ कार्यक्रम अन्तर्गत कफी पकेट क्षेत्र कार्यक्रम लागु गरिएको छ ।

२०८१ साल असोज १० गतेदेखि १२ गते सम्म लगातार परेको भिषण वर्षाको कारण यस खानीखोला गाउँपालिकामा समेत यो भयानक प्राकृतिक प्रकोपबाट बागमती नदिले बगाएर र पहिरोले पुरिएर आवासविहीन भएका घरका परिवारहरूलाई “विपदबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१” बमोजिम रकम रू। ५० हजारको लागि अनलाईन प्रोर्टलमा ५१ घर परिवारको विवरण अपडेट गरिएको । साथै उक्त बेलाबखतमा आवासविहीन भएका २१ घर परिवारलाई तत्काल राहत उपलब्ध गराईएको र आंशिक घर क्षति, खेतबारी, गोठ गरी विभिन्न विपदमा परेका ९० जना नागरिकहरुलाई समेत उचित राहत उपलब्ध गराइएको छ । साथै ५३ घरपरिवारहरूलाई रकम रु. १३ हजार ५०० रुपैंया सम्बन्धितको खातामा उपलब्ध गराइएको । र अस्थाई आवास निर्माणको लागि प्रतिघर रु. २५००० पहिला किस्ता उपलब्ध गराउने तयारी अवस्थामा रहेको छ ।

सभाका सदस्यज्यूहरू,
अब म गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका लागि अपनाइएको नीति प्रस्तुत गर्न चाहन्छुः

५. वार्षिक नीति तथा कार्यक्रम तर्जुमाका लागि अपनाइएको नीति
५.१ नेपालको संविधानमा स्थानीय शासन सम्बन्धी उल्लेखित नीतिगत व्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम स्थानीय तहले आवधिक, वार्षिक तथा रणनीतिक योजनाहरू बनाई लागू गर्दै जानु पर्ने प्रावधान, राष्ट्रिय योजना आयोगले जारी गरेको स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन २०७८, सोह्रौं आवधिक योजनाको मूलभूत पक्षहरू अनुसार विभिन्न चरणको सहभागितामूलक प्रक्रियाबाट यस गाउँपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम तयार पारिएको छ ।

५.२ गाउँपालिकाको सहभागितामूलक योजना तर्जुमा तथा लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासन व्यवस्थाको मर्म अनुरुप राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता सम्पन्न जनताको शासन प्रक्रियामा अधिकाधिक रूपमा सहभागिता गराई नेपालको स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले निर्देशित गरे अनुरुप प्रक्रिया मार्फत टोल तथा बस्तीस्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न गरिएको छ । टोल तथा बस्तीस्तरीय योजना तर्जुमा गोष्ठी गरी टोल तथा बस्ती स्तरबाट छनौट भई आएका योजनाहरूको प्राथमीकरण गरिएको छ ।

५.३ गाउँपालिका भित्रका आवश्यक सम्भाव्य स्रोतहरूको समुचित पहिचान गरी आपसी परामर्शको आधारमा नीति, कार्यक्रम तर्जुमा गरिएको छ ।

६. सोच
“हामी बनाउँछौं हाम्रो खानीखोला” भन्ने मूल नारालाई सम्पूर्ण खानीखोलाबासी नागरिकहरूको साझा नाराको रूपमा स्थापित गरी सोही बमोजिम सम्पूर्ण नागरिकलाई विकास र परिवर्तनको मार्गतर्फ एकीकृत र केन्द्रीकृत हुने वातावरण सिर्जना गरी स्वस्थ, स्वच्छ, सभ्य एवम् समुन्नत खानीखोला बनाउने सोंच यस नीति तथा कार्यक्रमले बोकेको छ ।

६. लक्ष्य
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तर्जुमा गरि रहँदा यस गाउँपालिकालाई समुन्नत, समृद्ध र आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रम र योजनाहरूलाई प्राथमिकता दिइएको छ । जनताबाट प्रत्यक्ष माग भएका तथा यस गाउँपालिकाको दीर्घकालीन महत्वका योजनाका रूपमा पहिचान भएका योजना तथा कार्यक्रमहरूलाई समावेश गरी यस गाउँपालिकाको सम्भावना र अवसरलाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम तय गरेको व्यहोरा अवगत गराउँछु । “भौतिक पूर्वाधार युक्तस् बेरोजगार मुक्त” उत्पादनले भरिपूर्ण समावेशी समानुपातिक चरित्र बोकेको, उद्यमशील नागरिक, गरिबी र विभेद रहित खानीखोला निर्माण गर्ने हाम्रो लक्ष्य रहेको छ ।

गाउँसभाका सदस्यज्यूहरू,
अब म आर्थिक वर्ष २०८२/०८३ को विषयगत एवम् क्षेत्रगत नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
७. आर्थिक विकास
नेपालका सबै निर्वाचित निकाय एवम् राजनितीकर्मीहरूले आर्थिक समृद्धि विषयलाई आफ्नो प्रमुख एजेण्डाको रूपमा प्रस्तुत गरि गरिरहेको कुरा हामीमा सर्व विदितै छ तर समृद्धिको आधार समृद्धिको खाका र समृद्धि सम्बन्धी ठोस योजना बन्न नसक्दा फेरि समृद्धि केवल राजनीतिक एवम् चुनावी भाषणको मिठो शब्द बाहेक केही बन्न नसकेको आजको तितो यथार्थ हो । यसर्थ खानीखोलाको आर्थिक जीवनलाई माथि उठाउने सन्दर्भमा खानीखोला सरकारले आफ्नो ध्यान मूख्य रूपमा केन्द्रित गर्न चाहि रहेको छ जसको निम्ति तपसिल बमोजिमको नीति लिइएको छ ।

यस गाउँपालिकाको नागरिकको आर्थिक जीवनको स्तरवृद्धि गर्नका लागि गाउँपालिकाले कफीमा जसको उत्पादन उसैलाई अनुदान कार्यक्रम अत्यन्तै प्रभावकारी देखिएको र यस कार्यक्रम प्रति किसानहरूको व्यापक आकर्षण भएकोले उक्त कार्यक्रमलाई निरन्तरता दिइनेछ दिदै लगिनेछ ।
गाउँपालिकाको केन्द्रमा किसानहरूद्वारा उत्पादित वस्तुहरूलाई व्यवस्थित एवम् बजारीकरण गर्न स्थापना भएको कृषि हाट बजारलाई थप प्रभावकारी ढंगले सञ्चालनमा ल्याइनेछ ।

आगामी तीन वर्षभित्र गाउँपालिकालाई पूर्ण रुपमा अर्गानिक बनाइनेछ र गाउँपालिकालाई अर्गानिक उन्मुख घोषणा गरिएको छ । स्थानीय स्रोत, स्थानीय ज्ञान र सीपमा आधारित स्थानीय कृषि ग्रामीण औद्यागिकीकरणको प्रक्रियालाई आत्मसात गरिनेछ । प्रत्येक घरले ६ बोट फलफूलका बोट सहितको करेसाबारी (मसालाजन्य र तरकारी) व्यवस्थित गरिनेछ ।

स्थानीय परम्परागत खाद्य संस्कृतिलाई निरन्तरता दिइनेछ ।
स्थानीय रैथाने बालीको संरक्षण र प्रर्वद्धनका लागि विशेष अभियान सञ्चालन गरिनेछ ।
सबै जननिर्वाचित प्रतिनिधि, राजनीतिक दलका स्थानीय नेताहरु, शिक्षक, कर्मचारीलाई परिपत्र जारी गरी करेशाबारी निर्माण गर्न लगाइ समुदायलाई गरे हुँदो रहेछ भनेर महसुस गराउने रणनीति गराइनेछ ।

रैथाने वाली, मुख्य खाद्यन्नवाली (धान, मकै र कोदो), दलहन, तेलहन लगायतका स्थानीय बाली, फलफुल र पशु, मासुको उत्पादन बढाउने रणनीति र क्रियाकलापमा जोड दिइनेछ । पशुपालन क्षेत्रमा गाईभैंसी तथा बाख्खा पालनको लागि अति अनुकुल वातावरण भएकोले दूध र मासु उत्पादनमा कार्यविधि निर्माण गरी अनुदान मार्फत प्रोत्साहन गरिनेछ ।

रेबिज, लम्पिस्किन जस्ता महामारीजन्य रोग नियन्त्रणका लागि आवश्यक कार्यक्रम तय गरिनेछ ।
पशु नश्ल सुधारका कार्यक्रम सञ्चालन गरिनेछ र पशुपंक्षी तथा मत्स्य पालनका लागि आवश्यक उन्नत माछाका भुरा, उन्नत घाँसका बिउँ बेर्ना, दाना, औषधि खोप लगायतका सामग्रीको प्रबन्ध गरिनेछ ।
दूधको व्यवस्थित भण्डारण गर्न चिस्यानकेन्द्र स्थापना गरिनेछ र दूग्धजन्य उद्योग स्थापना गरिनेछ ।
खानीखोला गाउँपालिकाका कृषि योग्य जमिन तथा फाँटहरूमा अनिवार्य सिंचाईको व्यवस्था गरिनेछ । भाङटारबेसी, फलामेटार, धार्ने, जगथली, आँपटार, बेलटार, महादेवटार, महाङ्काल, बोरनबेसी, तालढुङ्गा, हात्तीसार, माझीटार, सतिघाट, बाहुनविर्ता, बलदेउ जस्ता फाँटहरूमा सिंचाईको उचित प्रवन्ध मिलाइनेछ ।

स्थानीय उत्पादकत्व वृद्धी गराई बजारीकरणमा सहजीकरण गर्नका लागि स्थापना गरिएको स्थानीय उत्पादन खरीद बिक्री केन्द्रलाई निरन्तरता दिइनेछ दिदै लगिनेछ । साथै सोको संचालनमा देखापरेका समस्याहरूलाई निराकरण गर्दै थप व्यवस्थित बनाइनेछ ।
खानीखोलामा उत्पादित कफी र खुवालाई खानीखोलाकै आफ्नै पहिचान खुल्ने गरी ब्राण्डिङ्ग र लेभलिङ्ग गरी बिक्री वितरण गर्ने व्यवस्था मिलाइनेछ ।

गाउँपालिकाको कफीमा जसको उत्पादन उसैलाई अनुदान कार्यक्रमलाई विस्तार गरी तोरी उत्पादनमा थप गरी प्रति पाथी रू. २५ अनुदानको व्यवस्था गरिनेछ । दूध तथा दूध जन्य पदार्थको उत्पादनलाई केन्द्रीकृत गर्न उद्योग स्थापना गरिनुका साथै कार्यविधि निर्माण गरी साना उद्योगलाई प्रोत्साहन अनुदानको व्यवस्था मिलाइनेछ ।

खानीखोला गाउँपालिका आफैं खानी नै खानी भएको भूगोलको अर्को नाम हो । यहाँ तामाखानी, फलामखानी, चुनखानीको सम्भाव्यता सम्बन्धी प्रारम्भिक अध्ययन भइसकेको छ । यसर्थ यहाँको खानीलाई उत्खनन गरी निर्यात गर्न सकेमा यहाँको आर्थिक विकासको लागि ठूलो मद्दत पुग्ने हुनाले सो सम्बन्धी योजना बनाई कार्यान्वयन गर्न पहल गरिनेछ ।

बाझो जग्गालाई गाउँपालिकाले औपचारिक सूचना जारी गरी जग्गाधनीबाट करारमा लिइ गाउँपालिका भरिका खाद्य संकट व्यहोरेका व्यक्तिहरूलाई निश्चित अवधि तोकी जग्गा उपयोगको अधिकार दिइनेछ । तर सो जग्गा उत्पादनभन्दा बाहिर प्रयोग गर्न पाइने छैन र यस्तो जग्गामा रैथाने बाली लगाउनु पर्नेछ ।
कफि, खुवा, तोरी, कोदोको रक्सि, बेलको जुस आदीको गाउँपालिकाद्वारा प्रशोधन र औद्योगिकरण गर्ने व्यवस्था मिलाइनेछ ।

तामाङ सामुदायको संस्कृतिसँग जोडिएको अति लोकप्रिय बाजा डम्फु र सो डम्फुको नामसँग जोडिएको पेङदोर्जेको प्रतिमा सहित पहिचान झल्किने गरी पेङदोर्जे डम्फु पार्क निर्माण कार्यलाई यसै साल सम्पन्न गरिनेछ ।

यस खानीखोला गाउँपालिकाबाट दस वर्षे जनयुद्धको क्रममा विभिन्न स्थानमा पुगी सहादत प्राप्त गर्नु भएका महान् सहिदहरूको स्मृतिमा निर्माणाधिन एक सहिद पार्क सम्पन्न गरिनेछ । गाउँपालिका क्षेत्रमा मनाइने जात्रा, मेला उत्सव लगायत स्थानीय पर्वहरूको प्रवद्र्धनका लागि आवश्यक प्रचार प्रसार गरी संरक्षण र प्रवद्र्धनमा योगदान पुग्ने कार्यक्रमको व्यवस्था गरिनेछ ।

खानीखोलाबासी नागरिकको सांस्कृतिक मूल्य, मान्यता र जागरणलाई संबोधन गर्ने गरी दशैं, ल्होसार र माघी जस्ता पर्वहरुको संरक्षण संवद्र्धन गरिनेछ र यहाँ रहेका सबै समुदायको भाषा, संस्कृति, धर्मको पहिचान झल्कने गतिविधिहरूको संरक्षण गर्नुका साथै प्रवद्र्धन गरिनेछ ।

खानीखोला वडा नं. ६ नयाँबस्तीमा बुद्धमूर्ति निर्माण र खानीखोला वडा नं. ५ सिक्रे दोभानमा त्रिवेणी मन्दिर निर्माण लाप्चेमा अवस्थित मनेश्वर गुफा जस्तावधार्मिक तथा सांस्कृतिक पर्यटन मार्फत पर्यटन आकर्षित गरिनेछ ।

पर्यटकीय स्थललाई सौन्दर्यकरण गर्दा स्थानीय ज्ञान, सीप र प्रविधिको मौलिकतामा आधारित भएर प्रवद्र्धन कार्यक्रम गरिनेछ ।

गाउँपालिका भरीका नागरिकलाई खानीखोला गाउँपालिका पर्यटन र परम्परागत पहिचानलाई संरक्षण एवं सम्बद्र्धन गर्न परम्परागत नेपाली घरको रंगले (सेतो कमेरो र रातो माटो) ले प्रत्येक वर्ष तिहार अघि आफ्नो घर रङ्गयाउन साथै तामाङ समुदयले कार्तिक पूर्णिमाका दिन घर पूजा गरी दायु राख सरकारको तर्फबाट अपिल गरिनेछ ।

स्थानीय खानाको प्रवद्र्धन गर्न स्थानीय खाना पाककला स्थानीय व्यक्तिद्वारा नै तालिमको व्यवस्था गरिनेछ, जसले गर्दा स्थानीय खानाको प्रवद्र्ध हुनेछ । स्थानीय खानाको विविधीकरणको तालिम पनि व्यवस्था गरिनेछ ।

“जाऊँ डाँडागाउँ पेङ दोर्जे पार्क” अभियान अन्तर्गत पेड्दोर्जे पार्क स्थल क्षेत्रको विशेष प्रवद्र्धन गरिनेछ ।

खानीखोला गाउँपालिकामा पर्यटन प्रवद्र्धन गर्नका लागि यस पालिका भित्रका पर्यटन सम्वद्ध प्रचारात्मक सामाग्री प्रकाशन गर्ने उत्कृष्ट व्यक्ति वा संस्थालाई सम्मान गरिनेछ । यस गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन भई निस्सा समेत प्राप्त भइ सककोले सो विवरण अनुसार जग्गाको नाप नक्सा तयार गरी जग्गा धनी प्रमाण पुर्जा वितरण गरिनेछ ।

खानीखोला बाहिर स्वदेश तथा विदेशमा रहेको युवाहरूलाई गाउँमा नै श्रम गर्ने उत्पादन बढाउने र रोजगारीको अवसर सिर्जना गर्ने कार्यलाई अघि बढाइनेछ । बागमती प्रदेश सरकारद्वारा घोषणा गरिएका गृहिणी महिला सशक्तिकरण कार्यक्रम, युवा रोजगारी कार्यक्रम, खास क्षेत्र खास उत्पादन कार्यक्रम लगायतका विविध कार्यक्रममा साझेदारी गरी सञ्चालनमा ल्याइनेछ ।

एक वडा एक उत्पादन कार्यक्रमलाई निरन्तरता दिइ कफीको उत्पादकत्व वृद्धि गराइनेछ । वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि गरिने पुनः श्रम स्वीकृति साथै कन्सुलर सेवा विभागबाट प्रदान गरिने सेवाहरु गाउँपालिकाबाट दिइने व्यवस्था मिलाइनेछ । बैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन खानीखोला गाउँपालिकामा क्बःक्ष् कार्यक्रमलाई प्रभावकारी रूपमा लागु गरिनेछ ।

८. सामाजिक विकास
बालबालिका शिक्षा प्रति अभिभावकहरूलाई पूर्ण जिम्मेवारी बनाउन अभिभावक शिक्षा कार्यक्रम सञ्चालनमा ल्याउनुका साथै व्यवस्थापन समितिको भूमिकालाई थप प्रभावकारी बनाउने विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरूको बैठक राखिनेछ र विद्यालय व्यवस्थापन समितिको अध्यक्षहरूलाई अन्तर पालिका शैक्षिक अवलोकन भ्रमण गरिनेछ ।

खानीखोला गाउँपालिकाको शैक्षिक स्तर उन्नतीका लागि माध्यमिक तहका विद्यालयहरूलाई आवसिय बनाउने नीति लिइनेछ । साथै आगामी तिन वर्ष भित्रमा कम विद्यार्थी भएका विद्यालयहरूलाई भौगोलिक अवस्था हेरी विद्यालय एकीकरण गर्दै लगिने तर्फ जोड दिइनेछ ।

माध्यमिक तहका विद्यालयमा अङ्ग्रेजी माध्यमबाट शिक्षा शिक्षण गर्ने विकल्प खुला गरिनेछ ।
प्राथमिक तहका कक्षालाई म्ष्नष्तबष्शिबतष्यल गर्न शुरूआत गरेको योजनालाई आगामी दुई वर्ष भित्रमा समापन गरिनेछ ।

शिक्षाको मूल्याङ्कन प्रणालीलाई व्यवस्थित गर्नका निम्ति पालिका स्तरीय परीक्षालाई प्रश्नपत्र निर्माण कार्यशालाहरूको आयोजना गरिनेछ । गाउँपालिकाको स्थानीय तथा मातृभाषा पाठ्यक्रम तर्जुमा गरी लागू गरि सकिएकोले यसै आर्थिक वर्षमा पाठ्यपुस्तक मुद्रण तथा छपाइ गरी स्थानीय तथा मातृभाषा पाठ्यक्रम कार्यान्वयनमा थप विस्तार गरिनेछ ।

“जसको कोही छैन उसको गाउँपालिका सरकार छ” भन्ने मुलनाराका साथ अनाथ तथा असहाय बालबालिकाका लागि निःशुल्क आवासीय शिक्षा सञ्चालनमा निरन्तरता दिइनेछ ।
सामुदायिक अध्ययन केन्द्रलाई सञ्चालनमा ल्याइनेछ र हरेक वडामा एउटा सामुदायिक अध्ययन केन्द्र सञ्चालनमा जोड दिइनेछ ।

गाउँपालिकास्तरीय अतिरिक्त शैक्षिक क्रियाकलापलाई नियमित र व्यवस्थित गरिनेछ र विद्यालय स्तरमा सञ्चालन गर्न आर्थिक सहायता उपलब्ध गराइनेछ ।
यस गाउँपालिकाबाट क्भ्भ् परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका (ब्+) ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिनेछ ।

अविभावकसँग निरन्तर अन्तक्रिया कार्यक्रमबाट प्राप्त सुझाव जस्ताको त्यस्तै शिक्षक अविभावकसँग र विद्यालय व्यवस्थापन समिति मार्फत प्रत्येक विद्यालयका प्रधानाध्यापकसम्म पु¥याई शैक्षिक गुणस्तर सुधारका लागि सम्बन्धित प्रधानाध्यापकलाई पूर्ण जिम्मेवार र जवाफदेही बनाइनेछ ।
आगामी तीन वर्षभित्रमा खानीखोला गाउँपालिकामा एक प्राविधिक शिक्षालय र एक सामुदायिक क्याम्पस स्थापना गरिनेछ ।

गाउँपालिका अन्तर्गत विद्यालयहरूलाई पूर्णतय अर्गानिक, स्थानीय रैथाने उत्पादनको बनाउनको लागि सम्बन्धित विद्यालयहरूमा निर्देशन गरिनेछ ।
गाउँपालिकाभित्र हुने सरकारी, गैह्र सरकारी कार्यक्रमहरुमा खाना र खाजा पूर्णतय अर्गानिक र रैथाने हुन परिपत्र र निर्देशन गरिनेछ । गाउँपालिकाले आयोजना गरेका कार्यक्रमहरुमा बाहिरिया खाना खाजा भुक्तिानी दिइनेछैन ।

पालिकाले निर्माण गरेको स्थानीय हाटबजारमा कुनै एक दिन तोकी बाहिरको सामान नबेची स्थानीय उत्पादन मात्रै बेच्ने दिन तोकिनेछ ।
यस पालिकाभित्रका जननिर्वाचित प्रतिनिधी, सरकारी वेतन खाने कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनु नीति अबलम्बन गरिनेछ ।

बुक होलिडे कार्यक्रम लागू गरिनेछ । विद्यालयलाई चाहिने शैक्षिक सामग्री विद्यार्थीले नै उत्पादन गर्ने गरी दक्ष जनशक्तिको सहजिकरणमा गर्नेछन् ।

शिक्षकहरुलाई स्थानीय समुदायसँग जोडिएर, कार्यमूलक अनुसन्धानको वातावरण तयार पारिनेछ ।
गाउँपालिकाका अध्यक्षसहित २ महिनाको एक पटक विद्यालयको समग्र शिक्षण प्रक्रिया सुधार कार्ययोजना र कार्यान्वयन बारेमा नियमित बैठक बसिनेछ ।

खानीखोला गाउँपालिकामा विगत आर्थिक वर्षबाट सञ्चालनमा ल्याइएको गर्भवती, जेष्ठ नागरिक तथा दीर्घ रोगीहरुको मासिक घुम्ती स्वास्थ्य परीक्षण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
वर्षमा एक पटक खानीखोलास्तरीय निस्शुल्क एकीकृत स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
महिला स्वयंसेविकाहरूको दक्षता विकास तालिम उपलब्ध गराई उनीहरूको सेवालाई प्रभावकारी तुल्याइनेछ ।

गर्भवती महिलाहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी “झण्डा र अण्डा” कार्यक्रम यस आर्थिक वर्ष देखि लागु गरिनेछ । अर्थात गर्भवती महिलाको घरमा झण्डा राखिनेछ, जसले गर्दा गर्भवतीको घर पहिचान हुनेछ र गर्भवती अवस्थामा गर्न हुने नहुने, के खाने, के नखाने अभियान सञ्चालन गर्न सजिलो हुनेछ । गाउँपालिकाले गर्भवती महिलालाई १० क्रेट अण्डा उपलब्ध गराउनेछ । जसले गर्दा पौष्टिक आहारको अभियान सञ्चालन गर्न मद्दत मिल्नेछ ।

गाउँपालिकामा एम्बुलेन्स सेवा थप गरिने छ र प्रसुति सेवाको लागी बर्थिङ सेन्टरमा (प्रसुती केन्द्र) आउन र जान निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने छ । अहिलेसम्म बर्थिङ सेन्टरमा जान मात्रै सेवा उपलब्ध गराइएकोमा यस आर्थिक वर्ष देखि दोहोरो यातायात सेवा उपलब्ध गराइने छ साथै एम्बुलेन्स नजाने ठाउँहरुमा स्टेचरको व्यवस्थापन गरिनेछ ।

कम्तिमा चार पटक गर्भवति जाँच र बर्थिङ सेन्टरमा बच्चा जन्माए पछि गाउँपालिकाद्वारा विशेष प्रोत्साहनको व्यवस्था गरिनेछ । सुत्केरी जाँच (एल्ऋ) भने स्वास्थ्यकर्मीले घरमै पुगेर निःशुल्क सेवा उपलब्ध गराउनेछन् ।

अहिले विश्वव्यापी रुपमा सामुदायिक स्वास्थ्य इकाइको महत्व बढेर गएको छ । खानीखोला जस्तो विकट गाउँपालिकाको विकटता एवं भौगोलिक कठिनतालाई मध्यनजर गरी स्थानीय स्वास्थ्य सेवा सहज नभएको अवस्थालाई सहज बनाउन गाउँपालिका भित्र वडा नं. १ को दयागाउँ र वडा नं. ७ को महाङ्गालमा थप सामुदायिक स्वास्थ्य इकाइ विस्तार गरिनेछ । गाउँपालिकाको वर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई प्रोत्सहान स्वरुप रु. दुई हजार उपलब्ध गराइनेछ ।

आङ खसेको महिलाको शल्यक्रिया गर्नुपर्ने भएका र शल्यक्रिया गर्न गएको खण्डमा आतेजाते खर्च र अन्य खर्च बापत रु ५००० हजार राहात स्वरुप गाउँपालिकाले उपलब्ध गराउने छ । खानीखोला सरकारको मूल अभिभारा “एक घर, एक धारा” भन्ने मूल नारालाई सफलीभूत बनाउन विभिन्न साझेदारी संस्थासँग समन्वय गरी स्वच्छ खानेपानी “एक घर, एक धारा“ लाई निरन्तर विस्तार गर्दै लगिनेछ र सो कार्यक्रममा आगामी आर्थिक ३ (तीन) वर्ष भित्रमा सम्पन्न गरि सक्ने लक्ष्य लिइएको छ ।
खानेपानीको समस्या भएका गाउँपालिकाको सबै ठाउँमा बृहद् खानेपानी आयोजना मार्फत खानेपानीको व्यवस्था गरिनेछ । साना खानेपानी आयोजना निर्माणलाई प्राथमिकतामा राखी उचित बजेट विनियोजन गरिनेछ ।

जेष्ठ नागरिक विश्राम स्थल चौतारो सार्वजनिक स्थलहरूमा प्रतिक्षालय निर्माणमा जोड दिइनेछ ।
बालमैत्री स्थानीय शासनको सूचकहरूलाई सहयोग पुग्ने कार्यक्रमहरू तय गर्दै आ.व. २०८२÷०८३ बाट पूर्ण रूपमा बालमैत्री बनाउने नीति प्राथमिकताका साथ कार्यन्वयन गरिनेछ । प्रत्येक वडा र विद्यालयम बालमैत्री स्थानीय शासनको अवधारणा अनुरुप बाल क्लबहरू तथा बाल क्लब सञ्जाल गठन गरिनेछ ।
अपाङ्ग वालवालिका, अपाङ्गता भएका व्यक्तिका लागि पुनःस्थापना कार्यक्रम सञ्चालन गरिनेछ ।
बालविवाह तथा बहुविवाहलाई निरुत्साहित गर्ने असल मनशाय सहित विवाह गर्नुपूर्व अनिवार्य रूपमा वडा कार्यालयबाट विवाह अनुमति सिफारिस लिएर मात्र विवाह गर्ने पद्धति विकास गरिनेछ ।
“विवाहवारी २० वर्ष पारी” भन्ने मूल नाराका साथ बाल विवाह रोकथामका लागि सचेतना कार्यक्रम आयोजना गरिनेछ ।

गाउँपालिकाले खेलकुद सम्बन्धी नीति निर्माण गरी गाउँपालिकाभित्रका खेलकुदका गतिविधिलाई व्यवस्थित बनाउँदै लगिनेछ । गाउँपालिकास्तरीय खानीखोला गाउँपालिका कप खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ । गाउँपालिकाका सम्पूर्ण खेलकुदसँग सम्बन्धित गतिविधिहरु खेलकुद विकास समिति मार्फत सञ्चालन गरिनेछ ।

यस गाउँपालिकाको समग्र खेलकुद गतिविधि सञ्चालन गर्न एक खेलकुद रंगशाला बनाइनेछ ।
गाउँपालिकाभित्र आयोजना हुने महोत्सवहरूमा विविध जातीय भेषभुषा, कला साहित्य, सङ्गीत लगायतको झाँकी सहित प्रदर्शन गर्ने नीति लिइनेछ ।

गाउँपालिकाका सबै जाति, आदिवासी जनजाति, अति सीमान्तकृत, सीमान्तकृत समुदायको धर्म, भाषा, संस्कृति, परम्परा, कला, साहित्य, परम्परागत ज्ञान, सीप, क्षमता, अनुभव र योग्यताको संरक्षण र संवद्र्धन गरिनेछ ।

गाउँपालिका भित्र बोलिने सबै भाषा, सबै समुदायका परम्परागत पर्वहरु र झाँकीहरु, डम्फु, खैजडी, टुङ्गना लगायतका बाजाहरुको समूह बनाई संरक्षण गरिनेछ साथै लामा, ताम्बा, बोम्बो, कोसे लगायतका धार्मिक एवम् सांस्कृतिक क्रियाकलापको संरक्षण र प्रतिस्पर्धात्मक किसिमले पुनःस्थापित गरिनेछ ।
महिला, बालबालिका, अल्पसंख्यक, भूमिहीन, अति गरिब, आदिवासी जनजाति र सामाजिक बहिष्करणमा परेका वर्गको लागि उत्थानशील कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

ऐतिहासिक कालदेखि दलित तथा शिल्पी समुदायले जीवन निर्वाहको रूपमा अपनाइ आएका परम्परागत पेशालाई व्यावसायिक उद्यमको रूपमा विकास गर्न पूँजी लगानी सहयोग गरिनेछ ।
गाउँपालिका सरकारले जेष्ठ नागरिकहरूको सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

९. पूर्वाधार विकास
विगत लामो समय देखि विकट एवं दुर्गम भनि परिचय बनाएको यस पालिकाको परिचय बदल्नका लागि पूर्वाधारको विकासको क्षेत्रमा आमुल उन्नती गर्न सम्पूर्ण पहल केन्द्रित गरिनेछ ।
गाउँपालिकाको प्रशासकीय भवन र २ नं. वडा कार्यालयको भवनहरू छिटै सम्पन्न गरिनेछ र ठेक्का हुन बाँकी रहेका वडा कार्यालयहरूलाई छिट्टै ठेक्का गरिनेछ ।

बागमती प्रदेश सरकारको प्राथमिकतामा परेको ताल्ढुंगा उदयीमान सहरी बिकास कार्यक्रमलाई सफल बनाउने तर्फ जोड दिइनेछ । साथै गाउँपालिकाको सहरी विकासको सम्भावना बोकेको जगथली, महाङ्काल र फलामेटारको पनि सम्भाव्यता अध्ययन गर्ने प्रक्रिया अघि बढाइनेछ ।
निर्माणाधिन जनमुक्ति मार्ग, सिक्रेदोभान पुल, खानीखोला र दुर्लुङ खोला पुल सम्पन्न हुँदा खानीखोला विकासमा नयाँ क्रान्ती नै थपिने भएकोले उक्त आयोजना समयमै सम्पन्न गर्न गाउँपालिका सरकारले सम्पूर्ण पहल गरिनेछ ।

खानीखोला गाउँपालिकाको गौरवको योजना एवं पालिका केन्द्र जोडिने खोपासी–ताल्ढुंगा सडक कालोपत्र गर्न, गाउँपालिकाको मेरूदण्ड सडक खानीखोला करिडोर च्याल्टी–फलामेटार–ताल्ढुंगा सडक, ताल्ढुंगा–महाँङ्काल–हेल्टार वडा नं. ७ हुँदै बेथानचोक सडक खजुलीवेसी, धाप्ले मिल्चे, दयाँगाउ महादेवटार देउराली कुस्पा, तालढुङ्गा, जुरे भाटार कुपिन्टारलाई पालिकाको उच्च प्राथमिकतामा राखी स्तरोन्नती गरिनेछ ।

खानीखोला गाउँपालिका भित्रका सडक पुलहरूलाई निर्माणको लागि पहल गरिनेछ र यस गाउँपालिकाको खानीखोला करिडोर अन्तर्गत बेलिबिज्रहरू निर्माण गरिनेछ साथै वाहुनविर्ता, धार्ने, सतिघाट, महाभारत जोड्ने चाउ खोला, ललितपुर जोड्ने दुर्लुङ खोला, खानीखोला, धनमनाबेसी कुपिनटार सुकुम फेदीको दुर्लुङ खोलामा पक्की पुल निर्माणको लागि संघ र प्रदेशसँग समन्वय गरी आगामी तीन वर्षभित्र पक्की पुल निर्माण गरिनेछ ।

सबै वडा केन्द्रहरूमा सडकको पहुँच सुलभ बनाउन यस अघि गरिएका प्रयासलाई निरन्तरता दिई सोही अनुरूपको कार्यक्रम बनाइनेछ । खानीखोला गाउँपालिकाको पहिचान बोक्ने र धेरै भन्दा धेरै बस्तीलाई समेट्ने खानीखोला कोरिडोरलाई खानीखोलाको मेरुदण्ड सडकको रूपमा विस्तार एवम् विकास गरी प्रदेश राजधानी हेटौंडासम्म जोडिनेछ ।

गाउँपालिकाभित्रका झोलुङ्गे पुल निर्माण गर्न आवश्यक स्थानहरूमा आगामी ४ वर्ष भित्रमा झोलुङ्गे पुल निर्माण गरिनेछ । सडक एवम् अन्य पूर्वाधारको क्षेत्रमा आवधिक योजना निर्माण गरी संघ र प्रदेशसँग समपूरक बजेटको व्यवस्था गर्ने कार्यलाई जोड दिइनेछ ।

गाउँपालिकाभित्रका सडकहरु जुनसुकै बेला क्षति भई आवागमन अवरुद्ध हुने भएकाले यातायात सुचारु गर्न आपतकालीन सडक मर्मत सम्भार कोष मार्फत गरी कार्यान्वयन गरिनेछ । आर्थिक वर्ष २०८२/०८३ भित्रै खानीखोला गाउँपालिकाभरि केन्द्रीय विद्युत प्रसारण लाइन सबै घर धुरीमा विस्तार गर्ने कार्य सम्पन्न गरी पूर्ण विद्युतिकरण घोषणा गरिनेछ । पोखरी संरक्षण, पहिरो तथा खहरे नियन्त्रण, विकासका पूर्वाधारको संरक्षण, नदी उकास क्षेत्रको संरक्षण गरी जल, जमिन, जङ्गल र जलाधारको संरक्षण गरिनेछ ।

सबै वडाहरूमा इन्टरनेट सेवाको अभावले गर्दा अनलाइनमार्फत दिइने सेवा प्रवाहमा बाधा पर्न गएकोले सम्पूर्ण वडाहरूमा इन्टरनेट सेवा विस्तार गरी अनलाइन सेवाको विस्तार गरिनेछ ।
चुस्त, दुरुस्त गति तथा पारदर्शीताका साथ सेवा प्रवाह दिन विभिन्न सेवाहरू अनलाइन÷अफलाइन सफ्टवेयर मार्फत प्रदान गरिनेछ । सबै वडाको पञ्जीकरण सम्बन्धी सेवा प्रवाह व्यक्तिगत घटना दर्ता अनलाइनमार्फत गरिनेछ । गाउँपालिका तथा वडा कार्यालयहरूबाट प्रदान गर्ने सेवा प्रावहलाई एकिकृत गर्न एकल सेवा केन्द्र निर्माण तथा संचालन गरिनेछ ।

गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुका विद्यार्थीहरूलाई लक्षित विभिन्न साझेदारीमा सूचना प्रविधि सिप मुलक तालिम दिइनेछ साथै मा.वि. स्तरको विद्यालयहरूमा “पढाईलाई प्रविधि“ भन्ने नाराका साथ पढाइलाई प्रविधिमा जोड्ने कार्य गरिनेछ ।

१०. वन, वातावरण तथा विपद् व्यवस्थापन
वन अतिक्रमण तथा डढेलो नियन्त्रणलाई निरुत्साहित गर्न वृक्षरोपणका कार्यक्रम लागू गरिनेछ । गाउँपालिका भित्रका सामुदायिक वनहरूलाई जिम्मेवारी बनाउन आवश्यक कार्यहरू गरिनेछ ।
गाउँपालिकाको तालढुङ्गा र अन्य बजार क्षेत्र लगायतको फोहोरलाई व्यवस्थित गर्न वातावरणीय प्रभाव मूलयाङकन गरी फोहोरमैलाको उचित व्यवस्थापन गरिनेछ ।

“हाम्रो घरको फोहोर हामी आफै व्यवस्थापन गछौँ”, “हाम्रो टोलको फोहोर हामी आफैं व्यवस्थापन गछौं”, “हाम्रो वडाको फोहोर हामी आफैं व्यवस्थापन गर्छौं” भन्ने मूल नाराका साथ सम्पूर्ण गाउँपालिकाबासीहरूले हामी सफा, स्वच्छ र स्वस्थ्य रहन्छौं भन्ने प्रतिवद्धताको निम्ति अपिल गरिनेछ ।
आकस्मिक प्रकोपजन्य रोग नियन्त्रणका लागि आवश्यक नीति बनाई प्रभावकारीरूपमा कार्यान्वयन गरिनेछ ।

गाउँपालिकाभित्र बाढी पहिरो, चट्याङ, हावाहुरी, आगलागी, भूकम्प आदि विपद्का घटनाहरू निरन्तर रुपले भइरहने हुनाले प्राकृतिक विपद् न्यूनीकरणको सम्भावनालाई अध्ययन गरी विपद् र चट्याङ्गबाट पर्ने असरको न्युनिकरणको लागि विज्ञ सहितका अर्थिङ लगाइनेछ ।

संभावित विपदको प्रतिकार्यको लागि आवश्यक व्यवस्थापकीय कार्यलाई तयारी हालतमा राख्न आवश्यक उपकरण एवं राहत सामाग्री खरिद गरिनेछ र विपद विरुद्द स्वयंसेवक टिम निर्माण गरी परिचालन गरिनेछ ।

विपद् विरुद्धको प्रतिकार्यलाई व्यवस्थित बनाउन आवश्यक योजना निर्माण गरिनेछ र रेड क्रस लगायतका संस्थासँग समन्वय गरी विपद् पूर्ण अवस्थामा गरिने उद्धार तथा पुनःस्थापना कार्यलाई छिटो र छरितो बनाउन विपद् प्रतिकार्य टिम निर्माण गरिनेछ ।

११. सुशासन तथा संस्थागत क्षमता विकास
खानीखोला गाउँपालिकामा भएका असल अभ्यास, अनुकरणीय अभ्यास र सम्पदाहरूको बारेमा यहाँ जनपक्षीय कार्य, सार्वजनिक सूचना एवं पालिकाको गतिविधिहरूको बारेमा समाचार प्रकाशन गर्ने सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापनको व्यवस्था गरिनेछ ।

कर्मचारीहरुको क्षमता र संस्थागत क्षमता विकासका योजना निर्माण गरी सञ्चालन गरिनेछ ।
भौगोलिक विकटताका कारण कर्मचारी अभावले कार्यालय कामकाजमा बाधा पर्ने हुँदा थप जिम्मेवारीको आधारमा कर्मचारी प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएकोमा यस आ.व. मा पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

गाउँपालिका अन्तर्गतका हरेक कार्यालयमा गुनासो पेटीका राखी मासिक रूपमा सोको सुनुवाई गरिनेछ । खानीखोला गाउँपालिकाको बेरुजु न्यूनीकरणका लागि लेखा समिति र बेरुजु फर्छयौट् समिति मार्फत न्यूनीकरण तर्फ प्रक्रिया अघि बढाइनेछ ।

न्यायिक समितिको क्षेत्राधिकार भित्रका विवादहरुको शीघ्र निरुपण गरी प्रभावकारी न्याय सम्पादनमा जोड दिइनेछ र आवश्यकता अनुसार नीतिगत तथा कानुनी प्रबन्ध मिलाइनेछ । न्यायिक समितिका पदाधिकारी तथा कर्मचारी र वडास्तरीय मेलमिलाप कर्ताहरुको क्षमता अभिवृद्धि गर्न पुनर्ताजकी तालिमको व्यवस्था गरिनेछ ।

प्रारम्भिक विवादहरु वडामा क्रियाशील मेलमिलाप कर्ताबाट समाधान गर्ने नीति लिइनेछ ।
कर्मचारी संगठन तथा व्यवस्थापन सर्वेक्षण (इ७ः क्गचखभथ) गरी सोको प्रतिवेदन कार्यन्वयनमा ल्याइनेछ ।

गाउँपालिका तथा वडा कर्यालय एवं मातहतका कार्यायमा सबै जनप्रतिनिधि, कर्मचारीहरूले कार्यालय परिसरमा प्रवेश गरेपछि हरेक सेवाग्राहीलाई अनिवार्य नमस्कारको अभिवादनसहित सार्वजनिक सेवामा सहजिकरण गरी काम सकेपछि पनि नमस्कार सहितको सेवा प्रदान गरिनेछ ।

गाउँपालिकाको आन्तरिक आय बढाउनको लागी यहाँ भएका खानीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) उतखनन गरी निर्यात, बिक्री वितरण गर्न कानुन बमोजिम प्रक्रिया बढाइ आवश्यक पहल गरिनेछ ।
गाउँपालिकाको राजश्वको दायरा बढाइनेछ र आम नागरिकलाई “राज्यलाई कर तिर्नु हरेक नागरिकको कर्तव्य” हो भन्ने कुरामा प्रभावकारी अनुशिक्षण गरिनेछ ।

आन्तरिक आय व्यवस्थान, प्राकृतिक स्रोत विक्रीसम्बन्धी ऐन तथा नियमावली तर्जुमा गरी राजस्व परिचालनलाई थप व्यवस्थित तुल्याइनेछ । गाउँपालिका स्थित सबै विषयगत क्षेत्रहरूको वस्तुगत विवरणको यथार्थ आँकडा आउने खालको प्रोफाइल निर्माण गरिनेछ र सोही तथ्याङ्कको आधारमा खानीखोला गाउँपालिकाको भावि योजना निर्माण गरिनेछ ।

अन्त्यमा यस गरिमामय सभामा सभालाई शानदार ढङ्गले सम्पन्न गर्नका लागि उपस्थित गाउँसभाका सदस्यज्यूहरू, राजनीतिक दलका प्रतिनिधिज्यूहरु, कर्मचारी साथीहरू र यो नीति तथा कार्यक्रमलाई खानीखोलाको विकासको दस्तावेजको रूपमा ग्रहण गर्नु हुने सम्पूर्ण सहभागीहरूप्रति हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु ।
धन्यवाद !

इन्द्रबहादुर थिङ
अध्यक्ष

Khani Khola

October 18, 2025, Jyotishsanchar press

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको